वैशाख ७ देखि शेयर बजारमा ५ नयाँ व्यवस्था लागू, १५ प्रतिशत घटबढमा सर्किट लाग्ने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पुँजीबजारमा लामो समयदेखि बहस हुँदै आएको सुधारलाई कार्यान्वयनमा ल्याउँदै वैशाख ७ गते सोमबारदेखि शेयर कारोबार प्रणालीमा महत्वपूर्ण परिवर्तन लागू गर्ने भएको छ। बजारको स्थायित्व, मूल्य निर्धारणको पारदर्शिता र लगानीकर्ताको सक्रियता बढाउने लक्ष्यसहित पाँच वटा प्रमुख व्यवस्था संशोधन गरी लागू गर्न लागिएको हो।
‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ मा गरिएको संशोधनपछि शेयर कारोबारको दायरा विस्तार हुने अपेक्षा गरिएको छ। विशेषगरी सर्किट ब्रेकर, दैनिक मूल्य उतारचढाव सीमा, प्रि–ओपन सेसन तथा नयाँ अर्डर प्रणालीले बजारको संरचनात्मक स्वरूपमै परिवर्तन ल्याउने देखिएको छ।
संशोधित व्यवस्थाअनुसार अब सूचीकृत कम्पनीहरुको दैनिक शेयर मूल्य घटबढ हुन पाउने सीमा १० प्रतिशतबाट बढाएर १५ प्रतिशत कायम गरिएको छ। यसले लगानीकर्तालाई उच्च उतारचढावको अवस्थामा पनि बढी अवसर प्रदान गर्नेछ।
त्यसैगरी, प्रि–ओपन सेसनमा पनि महत्वपूर्ण परिमार्जन गरिएको छ। अब बिहान १०:३० देखि १०:४५ बजेसम्म सञ्चालन हुने यस सेसनमा शेयर मूल्य अधिकतम ५ प्रतिशतसम्म घटबढ गर्न पाइनेछ। यसअघि यो सीमा अत्यन्त न्यून हुँदा बजार खुल्नेबित्तिकै मूल्यमा अस्वाभाविक उछाल वा गिरावट देखिने समस्या थियो।
नेप्से परिसूचकमा आधारित सर्किट ब्रेकर प्रणालीमा पनि उल्लेखनीय परिवर्तन गरिएको छ। अब कारोबार सुरु भएको पहिलो दुई घण्टाभित्र नेप्से सूचक ५ प्रतिशतले बढे वा घटेमा १५ मिनेटका लागि कारोबार रोकिनेछ। यसअघि ४ प्रतिशतको उतारचढावमै २० मिनेटसम्म बजार स्थगित हुने व्यवस्था थियो।
त्यस्तै, पहिलो चरणको ब्रेकपछि बजार पुनः सञ्चालन भएर परिसूचक ८ प्रतिशतले बढे वा घटेमा भने सो दिनका लागि सम्पूर्ण कारोबार बन्द गरिनेछ। यसअघि ६ प्रतिशतमै कारोबार बन्द हुने प्रावधान थियो। ।
यससँगै, नेपालको पुँजीबजारमा पहिलोपटक ‘अफ्टर मार्केट अर्डर’ प्रणाली लागू गर्न लागिएको छ। यस व्यवस्थाअन्तर्गत नियमित कारोबार समय सकिएपछि पनि लगानीकर्ताले किनबेचका लागि अर्डर राख्न सक्नेछन्। अन्तर्राष्ट्रिय अभ्याससँग मिल्दोजुल्दो यो प्रणालीले बजारमा सहभागिता बढाउनुका साथै सूचना प्राप्ति र विश्लेषणका आधारमा निर्णय लिन थप लचकता दिने अपेक्षा गरिएको छ।
यता, नियमित कारोबार समयभित्र अर्डर राख्दा मूल्य परिवर्तन गर्न पाइने सीमा पनि २ प्रतिशतबाट बढाएर ३ प्रतिशत पुर्याइएको छ। यसले छोटो अवधिमा मूल्य समायोजनलाई सहज बनाउँदै बजारलाई बढी प्रतिस्पर्धी र सक्रिय बनाउने विश्वास गरिएको छ।











