नेपालका शासक सधैं आँशु र रगतसँग मात्रै किन खेल्न चाहन्छन् ?

नबराज न्यौपाने
११ बैशाख २०८३, शुक्रबार १२:००

समाचार टिप्पणी
बीरगन्जमा एक साताअघि चलाइएको डोजरले सयौं जनता आँशुको भेलमा डुबिरहेका छन् । काठमाडौंमा शनिबार बिहानै झिसमिसेमै डोजर चलाउने फर्मान जारी गरिएको छ । नेपालमा सत्ताका मालिक र शासकहरुले जारी गर्ने यस्ता फर्मान नयाँ होइनन् । राणाकालमा पनि उनीहरुलाई चित्त नबुझेका विषयमा यस्तै फर्मान जारी गरिन्थ्यो । पञ्चायतमा त्यस्तै, बहुदलमा कांग्रेस एमालेका मत्ता हात्तिहरुले यस्तै फर्मान जारी गरेका थिए ।

गरिब, निमुखा, पहँुच र पावर नभएकाहरुको आँशु र रगत सधैं शासकहरुलाई मनोरञ्जनको साधन बनिरह्यो, जुन आज पर्यन्त जीवितै छ । सत्तामा पुगेपछि मैमत्ता हात्ति झैं डुक्रने, निर्मम दमन गरेर जनताको रगत र आँशुसँग खेल्ने कार्य पछिल्लो पटक २०८२ भदौं २३ र २४ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेका थिए ।

अहिलेका नयाँ शासक जेनजी पुस्ताको नेतृत्वकर्ता पूर्व मेयर तथा वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहले पनि ओली जस्तै विगतकै दम्भी शासनको अभ्यास शुरुवात गरेका छन् । सरकार गठन भएको महिना दिन नपुग्दै आम जनता घण्टीमा भोट हालेकोमा पश्चाताप गर्दैछन् । बीरगन्जमा सयौं परिवारको चित्कार र आँशु नयाँ शासकहरुलाई मिठो लागि रहेको छ । बीरगन्जमा गरिएको विनाश र गाजामा युद्धपिपासु इजरायलले गरेको विनाशको दृष्य उस्तै उस्तै छ । तर, नेपालका शासकलाई अझै पुगेको छैन, शनिबार बिहानदेखि काठमाडौंका सुकुम्बासी बस्तीमा डोजर चलाउने भन्दै नयाँ फर्मान जारी गरिएको छ । महाभारतकालीन समयमा पनि युद्धको एउटा नियम थियो । सुर्यास्त भएपछि युद्ध वा धम्की दिइएको थिएन । अहिले बालेन सरकारले बिहिबार मध्यरातिसम्म माईकिङ गर्दै सुकुम्बासी बस्तीहरु डोजर लगाएर भत्काउने फर्मान जारी गरिएको छ । महाभारतमा नगरिएको अत्याचार जनतामाथि अहिलेको सरकारले गर्दैछ । यो फर्मान गाजामा इजरायलले गरेको आततायी घटनाभन्दा कम छैन । मलाई सोध्न मन छ– मध्यपूर्वमा जब जब त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई रगत बगेको हेर्न मन लाग्छ तब तब इजरायली सेनाले एकछिन अगाडि ‘यो यो क्षेत्र तत्काल खाली गर’ भन्छन् र भीमकाय बम खसारेल भेट्टाए मानिस त्यो पनि नभेट्टाए धर्तीभित्र समेतका जीवहरुको रगत भए पनि हेरेर आनन्द लिन्छन्, के नेपालमा पनि त्यस्तै गर्न खोजेको हो ? यसको जवाफ शासकले आज नदिन पनि सक्छन्, तर एउटा कालखण्डमा कठघरामा उभिएर आज गरिएको अन्यायको जवाफ पक्कै दिनुपर्नेछ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौको नेतृत्वमा वैशाख १२ गते शनिबार बिहान ६ बजे डोजर लगाउनेबारे प्रहरीले सुकुम्बासी बस्ती वरपर माइकिङ गरेको छ । हिजो मध्यरातिसम्म माईकिङ गरेको दृष्य सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले उक्त क्षेत्रमा माइकिङ गरेर बस्ती खाली गर्न निर्देशन दिएको हो । यतिबेला देशको गृहमन्त्री प्रधानमन्त्री बालेन शाह नै हुन् । प्रधानमन्त्री शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा हटाउन नसकेको सुकुम्बासी बस्तीमा अहिले पदीय दुरुपयोग गर्दै सुरक्षाकर्मी परिचालन गरेर हटाउने भन्दै आतंक मच्चाइरहेका छन् ।

राज्य आतंक नेपालमा नयाँ कुरा होइन ज्ञानेन्द्र शाहले २०५९ असोज १८ मा सत्ता कब्जा गरेपछि २०५४ सालमा तत्कालीन गिरिजा प्रसाद कोइरालाको पालामा चलाइएको ‘किलो सेरा टु’ वा पञ्चायतकालीन अवस्थामा गरिएका कैयौं हत्याहरु हुन् । पछिल्लो समय केपी ओलीले तीनकुने काण्डमा रचेको क्रुर हत्याकाण्ड होस् वा ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको लागि चन्द्र ढकालको सम्पत्ति जोगाउन एमाले नेता योगेश कुमार भट्टराईले विरोधमा उत्रने जनताको छातीमा गोली दाग्न लगाएको घटना होस् । सत्ताले क्रुर र तानाशाही प्रवृत्ति लोकतन्त्रमा समेत देखाउँछ भन्ने देखाएको छ ।

अहिले भर्खरै निर्वाचन सम्पन्न भई नयाँ सरकार बनेको छ । नयाँ सरकारले पनि विगतै तानाशाही र रगत र आँशु खेल्ने सरकार झै गर्जिन थालेको छ, मध्यराति मध्यराति फर्मान जारी गरेको छ । भ्रष्टाचारी, तस्करहरुको सातो लिएकै छ । लिनैपथ्र्यो, अपराधको आधारमा दण्ड र सजाय त्यो कानुन कार्यान्वयनमार्फत भइरहेको छ । त्यसको स्वागत, समर्थन र बालेनलाई धन्यवाद भन्नै पर्छ । भ्रष्टाचारीहरुलाई तह लगाएको बिषयमा कांग्रेस, एमाले, माओवादी, राजावादी मधेशवादी सबैले प्रधानमन्त्री बालेनलाई धन्यवाद दिनैपर्छ । पक्राउ परेर जेलमा भएका अपराधीहरुले पनि उनीहरुको दोस्रो पुस्ताको भविष्यका लागि प्रधानमन्त्री बालेन्द्र शाहलाई धन्यवाद भन्नैपर्दछ । तर, सिक्काको अर्को पाटोको रुपमा विगतकै केपी ओली शैलीमा जनताको आँशु र रोदनमा खुशी हुने पनि देखिन आएको छ । हो, अतिक्रमित, सडक मिचिएका जग्गाहरु खाली गर्नैपर्छ । सडक विस्तार पनि योजनाबद्ध तरिकाले गर्नैपर्छ । तर, विकास र सुशासनको नाममा गरिब, निमुखा, पहुँच र पावरबाट पर भएका सुकुम्बासीहरुलाई राज्यले गर्ने व्यवहारलाई कुनै पनि हालत अवस्थामा राम्रो मान्न सकिंदैन । एक्काइसौं शताब्दीमा आईपुग्दा पनि मध्यराति माईकिङ गरेर ओछ्यान खाली गर भन्ने फर्मान जोसुकैका लागि स्वीकार्य हुँदैन । सबैभन्दा पहिले विकल्प तयार पारेर उनीहरुर्लाइ स्थानान्तरण गर्नुपर्दछ अनि मात्रै बस्ती खाली गर्नुपर्दछ ।

सुकुम्बासीहरू पनि यो देशका नागरिक हुन् । नागरिकको आँशु र रगत जुनसुकै बाहनामा सडकमा पोखिनु कुनैपनि कोणबाट न्याय मान्न सकिंदैन र न्याय दिन नसक्ने शासक असल शासक होइनन् ।

नेपालमा धेरै तानाशाहहरुले यसैगरी जनताको आँशु र रगतसँग खेल्दा पत्तासाफ मात्रै भएका छैनन, इतिहासको एउटा कुनामा मात्रै सीमित हुन पुगेका छन् । वैकल्पिक राजनीतिज्ञ भनेर सर्वाधिक जनमत पाएर सत्तारोहण गरेपछि अहिले जसरी देवत्वकरण गरिँदैछ, त्यसैगरी, भोलिका दिनमा तीन महिना पनि नपुग्दै राक्षसीकरण गरेको हेर्नुनपरोस्, शासकहरु संयमित, धैर्यवान भएनन् भने बहुमत, जनमत पाएर पनि घोडाबाट लडेर धुलोमा मिसिएका धेरै उदाहरणहरु छन् । त्यसैले चेतना भया, एक थोपा पनि जनताको आँशु जमिनमा खस्यो भने त्यसको हिसाब किताब जनताले नयाँ तरिकाले गर्नेछन् भन्ने कुरा नेपालका नयाँ शासकहरुले बुझ्न जरुरी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*