सरकारी जागिरपछि बीमा अभिकर्ता पेशामा सुन्दर भविष्य बुन्दै राजु सिजापती

२९ बैशाख २०८३, मंगलवार १३:३०

जीवनको २० वर्ष सरकारी सेवामा बिताएका राजु सिजापतीको दैनिकी अन्यजस्तो सामान्य छैन। साधारणतया कुनै व्यक्ति सरकारी सेवाबाट निवृत्त भइसकेपछि खासै पेशा अँगालेको देखिंदैन बरू आरामसँग पेन्सन खाएर जीवन बिताइरहेको देखिन्छ। तर यो भीडमा राजु सिजापती फरक पात्र हुन् उनी सरकारी सेवाबाट निवृत्त भइसकेपछि पनि सर्वसाधारणलाई सेवा प्रदान गर्न भने छाडेका छैनन।

विक्रम सम्वत् २०३६ साल १० महीना २ गते दैलेख जिल्लाको तत्कालीन सेरी गाविस (हाल गुराँस गाउँपालिका) मा जन्मिएका सिजापतीले प्लस टू पास गरेका छन्। उनी हाल सुर्खेतको वीरेन्द्रनगरलाई कर्मथलो बनाएर आम सर्वसाधारणको घरघरमा गएर बीमा गराउनमा व्यस्त छन्।

दैलेखमा जन्मिएपनि हाल सुर्खेतको वीरेन्द्रनगर–९ मा घर बनाएर बस्दै आएका उनको परिवारमा ६ जना सदस्य छन्। उनको जीवनसंगिनी सिलाई बुनाई सम्बन्धी काममा व्यस्त छिन् भने छोराछोरी अध्ययनरत छन्। दैलेखमा बसिरहेका बा–आमालाई पनि सिजापती आफैंले हेरचाह गर्दै आएका छन्। श्रीमतीको आम्दानीले सामान्य घरव्यवहार चल्ने भए पनि छोराछोरीको पढाई खर्च, चाडपर्व जस्ता विशेष अवसरहरूमा त्यति कमाईले मा त्रै पर्याप्त हुँदैन। परिवारको बाँकी सम्पूर्ण खर्च धान्न र भविष्यका लागि बचत गर्न सिजापतीको बीमा व्यवसायबाट हुने आम्दानी नै मुख्य स्रोत बनेको छ।

उनी सशस्त्र प्रहरी बल, नेपालमा आवद्ध हुँदा २४सै घण्टा जुनसुकै समय रात दिन नभनी ड्युटीमा खटिएर जनता र देशको जीउधनको सुरक्षा गर्दै आएका थिए। प्रहरी ड्युटीमा समयको अत्यधिक चापका बाबजूद उनले बीमा क्षेत्रलाई पूर्ण रूपमा वेवास्ता गरेनन्। २० वर्ष ६ महीना सरकारी कर्मचारी भएर जनताको सेवा गर्दै सेवाबाट अवकाश हुँदा उनी करीब ४४ वर्षका भैसकेका थिए। झण्डै आधा जीवन व्यतित गरिसकेका उनले सरकारी सेवाबाट अवकाश पाएपछि पनि जनताको सेवा गर्नबाट भने आफूलाई रोक्न सकेनन्। त्यसो त उनी सरकारी सेवामा छँदै गर्दा पनि नेपाल लाइफबाट अभिकर्ता लाइसेन्स लिएर अलिअलि पार्टटाइमको रूपमा बीमा क्षेत्रमा सक्रिय नै थिए तर अवकाशपछि भने पूर्ण रूपमा दिलोज्यान दिएर यस क्षेत्रमा खटिइरहेका छन्।

शुरूमा उनको दाजु नाता पर्ने एकजना शिक्षकले उनको बीमा गराउँदै बीमा क्षेत्रमा आउन आह्वान गरेका थिए। त्यसपछि यो क्षेत्रमा उनको चासो बढ्दै गएपछि शुरूमा नेपाल लाइफमा आवद्ध भए तर १०ः५ को सरकारी कार्यालयका कारण बीमा क्षेत्रलाई निरन्तरता दिन सकेनन् र लामो समयसम्म नवीकरण नगराएको कारण उनको लाइसेन्स कोल्याप्स भयो।

जब सेवा निवृत्त भए तब उनले बीमा क्षेत्रमा केही गर्ने अठोट लिएर सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमै गएर कुरा गरेर अभिकर्ता लाइसेन्स लिएर पुनः यसै क्षेत्रमा फर्किए। बीमा क्षेत्रमा नाम, दाम, सम्मान र प्रतिष्ठा पाइने भएको कारण यस क्षेत्रमा आफू आकर्षित भएको उनी बताउँछन्। ‘बीमा गराउँदा आम नागरिकको बचतका साथै जोमिख बहन पनि हुने भएकाले अभिकर्ता पेशा एक समाजसेवा पेशा हो।’ उनले भने। उनी आर्थिक वर्ष २०८१/८२ देखि पेशेवर रूपमा अभिकर्ता पेशामा लागेसँगै सिल्भर क्लब बिजेता समेत भइसकेका छन् भने अबको लक्ष्य डायमण्ड क्लबमा छिर्ने रहेको छ।

उनले हालसम्म सिटिजन लाइफमा आवद्ध भएर ३४ जनाको बीमा गराइसकेका छन् भने हालसम्म कुनै बीमितको मृत्यु दाबी, दुर्घटना दाबी, घातक रोगको दाबी नपरेको बताउँछन्। साथै उनीबाट बीमा गराएका प्रत्येक बीमितले हालसम्म नियमित रूपमा प्रिमियम भुक्तानी गरिरहेका छन् भने कसैबाट सरेण्डर पनि भएको छैन। किस्ता तिर्ने समयमा बीमितलाई फोन गरी झकझकाउनुका साथै आवश्यक परे बीमितको घरमै गएर पनि किस्ता तिर्न सचेत गराउँदै आएका छन्।

उनको घरदैलो गर्ने शैली अन्यको भन्दा फरक छ। उनी शुरूमा आम नागरिकको घरमा गएर हाल खबर, सञ्चो विसञ्चो, उमेर, आम्दानी पारिवारिक अवस्था, सामाजिक अवस्था, आयस्रो, बचत आदिको बारेमा विस्तृतपूर्वक बुझ्ने कोसिस गर्छन्। त्यसपछि चिया, पानी आदि पिएर शुरूमा बीमाप्रतिको धारणा बुझ्ने कोसिस गर्छन्। केहीमा बीमाप्रति सकारात्मक धारणा पाइए पनि धेरै जसोमा भने नकारात्मक भावना रहेको उनले अनुभव गरेका छन्।

उनी घरदैलोमा जाँदा धेरैजसोमा कमाउने १ जना र खाने ५ जनासम्म हुने गरेको सुनाउछन्। त्यस्तो व्यक्तिका लागि बीमा झनै अपरिहार्य हुने भएकाले त्यस्ता खालका मानिसहरूलाई टार्गेट गरेर बीमा व्यवसाय गरिरहेका छन्। ‘५ जना खाने र १ जना कमाउने घरमा कमाउने व्यक्तिमाथि कुनै भवितव्य भएमा परिवारको आर्थिक अवस्था निकै कष्टकर बन्छ। त्यस्ता व्यक्तिहरूले आफ्नो लागि नभए पनि आफूमाथि आश्रित परिवारका लागि बीमा गराउनुपर्छ।’ उनले भने।

बीमा अभिकर्ता पेशामा लागेर उनले पनि राम्रै आम्दानी गरिरहेका छन्। उनले यस क्षेत्रबाट साधारणतया मासिक ४० देखि ५० हजार रुपैयाँ कमाउछन् भने अधिकतममा मासिक ७०/८० हजारसम्म कमाइ गरेका छन्। उनको दृष्टिकोणमा बीमा अभिकर्ता पेशा एक स्मार्ट पेशा हो। उनका साथीभाइ जो कोही अटो चलाएर/मिस्त्री पेशा अँगालेर आम्दानी गर्दै आएको भए पनि अभिकर्ता पेशामा हुने लवाई, खवाई र इज्जत, प्रतिष्ठा अन्यमा नहुने उनकै साथीभाइको मुखबाट सुनेका छन्।

बीमा व्यवसायमा उनले समस्या र चुनौतीको सामना नगरेको भने हुँदै होइन। पहिले पहिलेको समयमा अभिकर्ताले बीमितबाट पैसा उठाएर कम्पनीमा नबुझाई बीचैमा आफैंले खाइदिएको कारण कतिपयमा अझैसम्म पनि बीमा प्रति नकारात्मक धारणा रहेको उनले पाएका छन्। कतिपयले त सहकारीमा बचतकर्ताको पैसा डुबेका कारण बीमालाई पनि त्यसै क्षेत्र मा जोडेर बीमा पैसा डुब्ने माध्यम मात्रै भएको भनाई पनि बीमितको मुखबाट सुन्दै आएका छन्। यस्तो व्यक्तिको नकारात्मक धारणा चिरेर मात्रै बीमा गराउन सकिने उनी बताउँछन्। बीमाको बीमा र त्यो बीमाको पनि अर्काे बीमा हुने भएकाले बीमा कहिल्यै नडुब्ने उनको बुझाइ छ। कुनै बीमितलाई अभिकर्ताप्रति विश्वास नलागेमा कम्पनीमै गएर आफैंले पैसा तिर्न पनि सकिने भएकाले अभिकर्ताले पैसा खाइदिन्छ भन्ने भाष्य अहिले गलत भएको बताउँछन्।

बीमा पेशामा रमाइरहेका उनले अर्काे कुनै छुट्टै पाटो देखेका छैनन। पछिसम्म यही पेशामा लागिरहने उनको अठोट रहेको छ। हाल उनी शहरमुखी भएर बीमा व्यवसाय गरिरहेका छन्। अब भने उनी गाँउमुखी भएर व्यवसाय गर्ने पक्षमा छन्। ‘शहरका ठूला र धनाड्यको मात्रै नभई गाँउमा मकै पोलेर, पशुपालन गरेर, खेतीपाती गरेर जीवनोपार्जन गरिरहेका व्यक्तिको पनि बीमा हुनुपर्छ भलै त्यो १ लाख २ लाख जस्तो सानो रकमको किन नहोस्।’ उनले बताए।

उनले आफन्त र चिनजानका मान्छेको बीमा त गराएका छन् नै त्यसका अतिरिक्त कहीं यात्रा गर्दा होस् या चिया पसलमा गफगाफ गर्दा नै किन नहोस् बीमाको प्रसँग निकालेर ठाउँको ठाँउ बीमा गराइदिन माहिर छन् उनी। यस्तै कुराकानीको क्रममा एकपटक नेपाल आर्मीमा आवद्ध भएका दुई जना महिलासँग भलाकुसारी गर्दा वार्षिक ५४ हजार किस्ताको बीमा गराउँदा प्रिमियम तिर्न नसकेर यसै छाडिएको सुन्दा नरमाइलो महसूस गरेको अनुभव पनि उनीसँग छ। अभिकर्ताले बीमितको आम्दानीलाई मात्र हेर्ने तर खर्चलाई वेवास्ता गर्दा यस्तो समस्या आउने गरेको बताउँछन्। ‘ प्रिमियम तिर्न साह्रै अप्ठेरो परेको खण्डमा कम्पनीले समयसमयमा ल्याउने छुट योजनाको फाइदा उठाएर पनि किस्ता तिर्न सकिन्छ।’ उनी भन्छन्।

तर कसैलाई बीमा अगाडी बढाउनै नसक्ने अवस्था आइपरेमा भने कम्तीमा ३ किस्ता तिरेर निकाल्न सुझाव दिन्छन्। त्यसो गर्दा पनि रकम काटिएर आउने भएकोले नेपाल बीमा प्राधिकरणले नयाँ व्यवस्था गरेर त्यस्तो बीमितको पैसा नकाटिने व्यवस्था गर्नु पर्ने उनको बुझाइ छ। ‘बीमितको पैसा कुनै पनि हालतमा खेर जानु हुँदैन् उनीहरूले बचतका साथै जोमिम वहन पनि हुन्छ भनेर बीमा गराएका हुन्छन्।’ उनले भने। बीमा गराउँदा करार अवधि १५, १८, २० वर्ष जतिसुकै भए पनि किस्ता तिर्नै नसकेको बीमितको पैसा काटिएर फिर्ता आउनु राम्रो नभएको उनले बताए।

अझैसम्म पनी बीमामा नजोडिएका आम नागरिकलाई जतिसक्दो चाँडो बीमामा जोडिन आह्वान गर्दै उनी भन्छन् ‘हालसम्म पनि बीमा नगराएका व्यक्तिहरू सकेसम्म चाँडो आउनुहोस्, सकिन्छ भने घरका प्रत्येक सदस्यको बीमा गराउनुस् सकिन्न भने पनि कम्तीमा घरको मुल सदस्यको चाहिं अनिवार्य रूपमै बीमा गराउनुस्।’ विकसित देशहरूमा घरजग्गा भन्दा पनि शुरूमा बीमा खरीद गर्ने प्रचलन रहेकाले त्यस्तो चलनलाई नेपालमा पनि लागू गर्नु पर्ने उनले बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*