उपभोक्ता ठगीमा दुई कम्पनीलाई ४ लाख ४० हजार रुपैयाँ जरिवाना

९ असार २०८३, मंगलवार १७:५०

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत कार्य गरेको पाइएपछि दुई कम्पनीलाई कुल ४ लाख ४० हजार रुपैयाँ जरिवाना गरेको छ।

विभागले मंगलबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा उपभोक्ता ठगी तथा ऐनविपरीतका गतिविधिमा संलग्न फर्महरूलाई कारबाही गरेको जनाएको छ।

विभागका अनुसार ललितपुर महानगरपालिका–२५ स्थित मार्केट प्लेस प्रालिलाई २ लाख ४० हजार रुपैयाँ जरिवाना गरिएको छ। अनुगमनका क्रममा उक्त कम्पनीले अधिकतम खुद्रा मूल्य (एमआरपी) २४५ रुपैयाँ तोकिएको ‘सिम्पल आई मास्क’ ३९५ रुपैयाँमा बिक्री गरेको भेटिएको थियो।

तोकिएको मूल्यभन्दा बढी रकम असुल गरी उपभोक्ता संरक्षण ऐनको दफा १६(२)(क) उल्लंघन गरेको प्रमाणित भएपछि सोही ऐनको दफा ३९(१)(ख) बमोजिम जरिवाना गरिएको विभागले जनाएको छ।

त्यसैगरी, काठमाडौं महानगरपालिका–१६, बालाजुस्थित लिलिज नेपाल प्रालिलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ। उपभोक्तालाई मालसामान बिक्री गर्दा बिल–बिजक जारी नगरेको पाइएपछि उक्त कम्पनीमाथि कारबाही गरिएको विभागले जनाएको छ।

अनुगमनकै क्रममा ललितपुर महानगरपालिका–४, भनिमण्डलस्थित सोल स्क्वायर प्रालिलाई आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

विभागका अनुसार काठमाडौंका अन्य पाँच वटा पसल तथा फर्मलाई भने तत्काल जरिवाना नगरी सुधारका लागि सामान्य निर्देशन दिइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*