गृहमन्त्रीले खान लागेको अम्लेटभित्र माछाको काँडा भेटिएपछि होटलको भान्सामा अनुगमन, ३ लाख जरिवाना

१० असार २०८३, बुधबार १२:३१

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आज बिहान नास्ता गर्ने क्रममा अम्लेटभित्र माछाको काँडा भेटिएपछि भरतपुरस्थित एक होटललाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ।

भरतपुर विमानस्थल अगाडि रहेको होटल लर्ड्स बिजनेस कम्प्लेक्स प्रालिमा गरिएको अनुगमनका क्रममा गुणस्तरहीन तेल प्रयोग गरिएको, तरकारी ताजा नरहेको तथा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खालका खाद्य सामग्री प्रयोग गरिएको भेटिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले होटललाई जरिवाना गरेको हो।

गृहमन्त्रीले नास्ता गर्ने क्रममा अम्लेटमा माछाको काँडा भेटिएको गुनासो आएपछि सहायक प्रमुख जिल्ला अधिकारीसहित खाद्य तथा गुणस्तर मापन कार्यालयको टोलीले होटलमा अनुगमन गरेको थियो।

अनुगमनका क्रममा खाद्य सुरक्षासम्बन्धी विभिन्न कमजोरी फेला परेपछि उपभोक्ता संरक्षणसम्बन्धी प्रचलित कानुनअनुसार होटलमाथि कारबाही गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत मदन लामा थिङले विज्ञप्ति जारी गर्दै उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने खाद्यान्न तथा खाद्य सामग्री प्रयोग गरी सेवा प्रदान गरेको पाइएकाले होटललाई ३ लाख रुपैयाँ जरिवाना गरिएको जानकारी दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*