११ महिनामै १० हजार ८४५ विद्युतीय सवारी आयात, ५१–१०० किलोवाट क्षमताका गाडीको दबदबा

काठमाडौँ । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) प्रति उपभोक्ताको आकर्षण निरन्तर बढिरहेका बेला चालु आर्थिक वर्षको पहिलो ११ महिनामा मात्रै २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार रुपैयाँ बराबरका १० हजार ८४५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । भन्सार विभागको तथ्यांकले नेपालमा पेट्रोलियम इन्धनमा आधारित सवारीको विकल्पका रूपमा विद्युतीय सवारीको प्रयोग तीव्र गतिमा विस्तार भइरहेको देखाएको छ ।
विभागका अनुसार साउनदेखि जेठ मसान्तसम्मको अवधिमा ५० किलोवाट क्षमतादेखि २०१ किलोवाटसम्मका विभिन्न क्षमताका विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन् । आयात भएका सवारीमध्ये सबैभन्दा धेरै हिस्सा ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका गाडीले ओगटेका छन् ।
तथ्यांकअनुसार समीक्षा अवधिमा पाँच अर्ब ६५ करोड रुपैयाँ बराबरका ५० किलोवाट क्षमताका तीन हजार ६८० वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । तुलनात्मक रूपमा कम मूल्यका र सहरी प्रयोगका लागि उपयुक्त मानिने यस श्रेणीका गाडीहरू नेपाली बजारमा लोकप्रिय रहँदै आएका छन् ।
त्यसैगरी, ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका छ हजार ३५७ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । यी सवारीको कुल आयात मूल्य १६ अर्ब ४९ करोड ७९ लाख ४६ हजार रुपैयाँ रहेको छ । कुल आयातित विद्युतीय सवारीमध्ये संख्यात्मक र मूल्य दुवै हिसाबले यही वर्गका गाडीको हिस्सा सर्वाधिक रहेको देखिन्छ ।
सरकारले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्न भन्सार तथा कर संरचनामा केही सहुलियत कायम राखेको, चार्जिङ पूर्वाधार विस्तार हुँदै गएको तथा इन्धन खर्चमा हुने बचतका कारण पछिल्ला वर्षहरूमा ईभीको माग उल्लेखनीय रूपमा बढ्दै गएको छ । निजी क्षेत्रका अटोमोबाइल व्यवसायीहरूले पनि विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका विद्युतीय गाडी नेपाली बजारमा भित्र्याइरहेका छन् ।











