बीमा प्राधिकरण, धितोपत्र बोर्ड, राष्ट्र बैंक लगायत सबै नियामक निकायलाई बलियो बनाउने रास्वपाको प्रतिबद्धता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुलुकको आर्थिक प्रणालीलाई पारदर्शी, प्रतिस्पर्धी र परिणाममुखी बनाउन नेपालका सबै नियामक निकायलाई थप शक्तिशाली, स्वायत्त र व्यावसायिक बनाउने नीति अघि सारेको छ।
चितवनमा जारी रास्पवाको प्रथम राष्ट्रिय महाधिवेशनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको अर्थ–राजनीतिक प्रस्तावनामा उद्यमशीलता र बजार अर्थतन्त्रको प्रभावकारी विकासका लागि बलियो तथा स्वच्छ नियमनकारी राज्य संयन्त्र अपरिहार्य रहेको उल्लेख गरेका हुन्। प्रस्तावनामा प्रतिस्पर्धात्मक र परिणाममुखी अर्थतन्त्र निर्माण गर्न नियामक निकायहरूको क्षमता अभिवृद्धि आवश्यक रहेको बताइएको छ।
रास्वपाले नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल बीमा प्राधिकरणलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गरी पूर्ण व्यावसायिक र उत्तरदायी संस्थाका रूपमा विकास गर्ने लक्ष्य राखेको छ। साथै नागरिक उड्डयन प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, विद्युत नियमन आयोग, नगर विकास प्राधिकरण तथा सहकारी प्राधिकरणलगायतका निकायलाई थप स्वायत्त र प्रभावकारी बनाउने नीति अघि सारेको छ।
नियामक निकायहरू कमजोर हुँदा बजारमा कार्टेलिङ, एकाधिकार र बिचौलिया प्रवृत्ति मौलाउने गरेको छ। यस्तो अवस्थाले स्वस्थ प्रतिस्पर्धा र राष्ट्रिय पुँजी निर्माणमा बाधा पुर्याएको निष्कर्ष निकाल्दै नियामक निकायलाई सुदृढ, थप बलियो र प्रभावकारी बनाउने नीति लिइएको हो।
रास्वपाले सरकारअन्तर्गतका वाणिज्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर विभाग, वैदेशिक रोजगार विभाग र यातायात व्यवस्था विभागजस्ता निकायलाई पनि थप उत्तरदायी र प्रभावकारी बनाउने भएको छ। जिल्ला प्रशासन कार्यालयमार्फत हुने बजार अनुगमन तथा उपभोक्ता हित संरक्षणका कार्य समेत थप सशक्त बन्ने भएका छन्।
प्रस्तावनामा उदार अर्थतन्त्र भनेको छाडा अर्थतन्त्र नभएको स्पष्ट गर्दै निजी सम्पत्तिको सुरक्षा, उपभोक्ता हित संरक्षण, वातावरणीय उत्तरदायित्व र एकाधिकार नियन्त्रणमा राज्यको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गरिएको छ।
रास्वपाले नियामक निकायहरूलाई निष्पक्ष, पारदर्शी र सक्षम बनाउँदै लगानीकर्ताका लागि स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने तथा उपभोक्तालाई ठगी, कृत्रिम मूल्यवृद्धि र कार्टेलिङबाट जोगाउने बताएको छ। प्रभावकारी नियमनकारी संरचनामार्फत् मुलुकलाई बिचौलिया–आधारित अर्थतन्त्रबाट उत्पादनमुखी र मूल्य सिर्जना गर्ने अर्थतन्त्रतर्फ रूपान्तरण गरिने उल्लेख छ।
नियमनकारी भूमिका बलियो नहुँदा बजारमुखी अर्थतन्त्रमा विकृति आउने भएकाले बजार अर्थतन्त्र स्वस्थिर बनाउन विशिष्ट सार्वजनिक अंग नै चाहिने उल्लेख छ। राजनीति भ्रष्ट हुँदा नियामक नै नियमन गरिनुपर्नेको पोल्टामा पुगेकाले अस्वस्थ एवं उपभोक्तालाई मर्का पर्ने गरी गतिविधि गरेमा नियमन गर्न सक्ने क्षमता भएका बलिया नियामक निकायको आवश्यकता औंल्याइएको छ।
रास्वपाको लक्ष्य पहुँच, संरक्षण र विशेषाधिकारमा आधारित अर्थतन्त्रबाट प्रतिस्पर्धा, नवप्रवर्तन र मूल्य सिर्जनामा आधारित अर्थतन्त्रतर्फको रुपान्तरण भएको उल्लेख गर्दै नेपाललाई रेन्ट सिकिङ अर्थतन्त्रबाट मूल्य सिर्जना र अभिवृद्धि गर्ने अर्थतन्त्रमा रुपान्तरण गर्नु नै आर्थिक सुधारको मुख्य पहल हुने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन्।











