नियमनमा बीमा प्राधिकरण असफल, बीमा कम्पनी नेतृत्वविहीन हुँदा पनि केही गर्न सकेन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुमा प्रभावकारी नियमन गर्न सक्नेमा आशंका उत्पन्न भएको छ । बीमा कम्पनीका थुप्रै सिईओहरु निलम्वनमा परेपछि छानविनमा परेका कम्पनीहरु नेतृत्व विहिन हुँदा समेत प्राधिकरणले केही गर्न नसकेपछि नियमन क्षमतामा प्रश्न चिन्ह उठेको हो ।
गत जेठ २८ गते प्रहरी प्रतिवेदनको आधारमा सरकारले बीमा क्षेत्रका करिब एक सय जनाविरुद्ध फौजदारी अभियोगमा मुद्दा दायर गरेको थियो । सो काण्डमा अधिकांश फरार अभियुक्तको रुपमा काठमाडौं जिल्ला अदालत, उच्च अदालत र बिशेष अदालतम मुद्दा दायर गरिएको थियो । उक्त मुद्दाका कारण बीमा कम्पनीका अध्यक्ष, सिईओ, डेपुटी सिईओदेखि थुप्रै कर्मचारीहरु निलम्वित भए ।
बीमा कम्पनीका उच्च नेतृत्व नै निलम्वनमा परेपछि तत्कालै बरिष्ठ कर्मचारीलाई निमित्त दिएर कम्पनीलाई यथावत अवस्थामा अघि बढाउनुपर्नेमा कैयौं कम्पनीहरुमा त्यसो हुन सकिरहेको छैन । गार्डियन माइक्रो लाइफमा सिंगो सञ्चालक समिति नै निलम्वनमा पर्यो भने सिईओ, डिसिईओसहितका कर्मचारीहरु पनि निलम्वनमा परे । अब उक्त कम्पनी कसरी अघि बढ्छ भन्नेमा नियामक बीमा प्राधिकरण आफै अलमल्लमा छ । अर्थात, निकास दिन असफल भइरहेको छ । नेपाल माइक्रोको अवस्था पनि उस्तैछ ।
उच्च नेतृत्व कारवाहीमा परेपछि केही बीमा कम्पनीहरुमा बरिष्ठतम् अधिकारीले सम्हालिरहेको भएपनि केही बीमा कम्पनीहरुमा भने अझै पनि कामू सिईओ तोक्न सकिरहेका छैनन् । एक जीवन बीमा कम्पनीका अध्यक्षले उल्टै बीमा प्राधिकरणका कर्मचारीलाई थर्काउँदै निलम्वित कर्मचारीलाई काममा लगाएर आफू भने राष्ट्रिय स्वतन्त्र पार्टीको जिम्मेवार नेता हो भन्दै चितवनतिर पुगेको खवर छ ।
बीमा कम्पनीहरु सार्वजनिक सेवा प्रदायक कम्पनीहरु हुन् । यी कम्पनीहरुमा व्यापारीहरुका केही अर्ब लगानी भएपनि जनताको अर्बौ रुपैयाँ संचित गरिएको हुन्छ । त्यस्ता सार्वजनिक सेवा प्रदायक कम्पनी नेतृत्व विहिन हुँदा समेत नियामक बीमा प्राधिकरण तमासा हेरेर बस्नुलाई आश्चर्यको रुपमा हेरिएको छ ।
बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी हाल उपराष्ट्रपति कार्यालयकी सचिव चन्द्रकला पौडेलले सम्हालिरहेकी छिन् । झण्डै तीस बर्ष सरकारी सेवा गरेर सचिव जस्तो जिम्मेवार तहमा पुगिसकेको व्यक्ति नै अध्यक्ष भई नियामकको भूमिका रहेकै बेला बीमा कम्पनीहरु विगत दुई सातादेखि नेतृत्व विहिन हुँदा समेत मौन रहनुलाई असफल भएको रुपमा हेरिएको छ ।











