शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनको ‘एससीएसएमएफ स्पोर्ट्स अवार्ड २०२६’ सम्पन्न

काठमाडौं । शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसन (एससीएसएमएफ) ले नेपाली खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विशिष्ट र उदीयमान खेलाडीहरूलाई सम्मान गर्दै ‘एससीएसएमएफ स्पोर्ट्स अवार्ड २०२६’ सम्पन्न गरेको छ।
काठमाडौंको कमलादीस्थित होटल रोयल सिंगीमा मंगलबार आयोजित कार्यक्रममा नेपाली बक्सिङका वरिष्ठ खेलाडी तथा ओलम्पियन उमेश मास्के र राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी सन्दीप लामिछाने सम्मानित भएका हुन्।
फाउण्डेसनले उमेश मास्केलाई नेपाली बक्सिङको विकास र प्रवद्र्धनमा पुर्याएको दीर्घकालीन योगदानको कदर गर्दै सम्मान प्रदान गरेको जनाएको छ। मास्केले सन् १९८० को मस्को ओलम्पिक र १९८४ को लस एन्जलस ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका थिए। उनले नेपाल बक्सिङ संघको अध्यक्ष र विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा टोली व्यवस्थापकको जिम्मेवारीसमेत सम्हालेका थिए।
त्यसैगरी क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन तथा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो २०० विकेट लिने विश्व कीर्तिमान कायम गरेको उपलब्धिका लागि सम्मान गरिएको हो। व्यस्त खेल तालिकाका कारण विदेशमा रहेका सन्दीपको तर्फबाट काठमाडौं जिल्ला क्रिकेट संघका सचिव तथा पूर्व राष्ट्रिय खेलाडी किरण श.ज.ब. राणाले पुरस्कार ग्रहण गरेका थिए।
पुरस्कारस्वरूप दुवै सम्मानित व्यक्तित्वलाई जनही दुई लाख ५० हजार रुपैयाँ नगद र कदरपत्र प्रदान गरिएको थियो। कार्यक्रममा भिडियो सन्देशमार्फत सन्दीपले सम्मानप्रति खुसी व्यक्त गर्दै नेपाली खेलकुदको विकासमा स्वर्गीय शरद चन्द्र शाहाले पुर्याएको योगदानको स्मरण गरेका थिए।
फाउण्डेसनले खेलकुद क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई प्रोत्साहन, सहयोग र सम्मान गर्दै आएको छ। यसअघि फाउण्डेसनले ‘एससीएसएमएफ स्पोट्र्स अवार्ड २०२४’ मार्फत बैकुण्ठ मानन्धर र एरिका गुरुङ तथा ‘एससीएसएमएफ स्पोट्र्स अवार्ड २०२५’ मार्फत राजुकाजी शाक्य र अरुणा शाहीलाई सम्मान गरेको थियो।
शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसन सन् २०२० नोभेम्बर ३० मा स्वर्गीय शरद चन्द्र शाहाको सम्झनामा स्थापना गरिएको हो। शाहालाई नेपाली खेलकुदको आधुनिकीकरण र ओलम्पिक आन्दोलनको विस्तारमा महत्वपूर्ण भूमिका खेलेको व्यक्तिका रूपमा चिनिन्छ।











