रातारात गायब भयो पेट्रोल बोकेको ट्यांकर, ९७३ लिटर चोरी भएको पुष्टि

१० असार २०८३, बुधबार १७:३३

काठमाडौँ । नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय, विराटनगरका लागि पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएको एक ट्यांकरबाट ९७३ लिटर पेट्रोल चोरी भएको घटना सार्वजनिक भएको छ। निगमले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ।

निगमका अनुसार नवीन ढुवानी सेवा प्रालिको ट्यांकर नम्बर को १ ख ६१९० ले असार ६ गते भारतस्थित सिलिगुडी डिपोबाट २० हजार लिटर पेट्रोल लोड गरी असार ७ गते बिहान विराटनगर आइपुगेको थियो। उक्त ट्यांकर निगमको डिपोबाट करिब ३०० मिटर दूरीमा रहेको कञ्चनबारी पार्किङमा राखिएको थियो।

असार ८ गते बिहान ट्यांकर पार्किङ स्थलबाट हराएको भन्दै ढुवानीकर्ताले निगमलाई लिखित जानकारी गराएपछि निगमले जिल्ला प्रहरी कार्यालय मोरङलाई जानकारी गराउँदै खोजी प्रक्रिया अघि बढाएको थियो।

सीसीटीभी फुटेजको अध्ययन गर्दा ट्यांकर असार ८ गते बिहान ३ बजेर ३ मिनेटमा पार्किङबाट बाहिरिएको र नोबेल अस्पतालतर्फ गएको देखिएको निगमले जनाएको छ। त्यसपछि निगम, प्रहरी तथा ढुवानीकर्ताका प्रतिनिधिले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरेका थिए।

खोजीका क्रममा ट्यांकर विराटनगरबाट करिब १७ किलोमिटर टाढा सुनसरीको भोक्राहा गाउँपालिका–८ अन्तर्गत हुलाकी राजमार्गमा बेवारिसे अवस्थामा फेला परेको थियो। ट्यांकरको सुरक्षा सिल (एसआईएस) काटिएको अवस्थामा भेटिएको निगमले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरी, निगमका कर्मचारी तथा ढुवानीकर्ताका प्रतिनिधिको रोहवरमा मुचुल्का तयार गरी थप अनुसन्धानका लागि कागजात जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको थियो। त्यसपछि ट्यांकरलाई निगमको डिपो नजिकैको पार्किङमा ल्याएर सिलबन्दी गरिएको थियो।

बुधबार जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ, पत्रकार, निगम तथा ढुवानीकर्ताका प्रतिनिधिको उपस्थितिमा ट्यांकरको सिल खोली गुणस्तर तथा परिमाण परीक्षण गरिएको थियो। परीक्षणका क्रममा पेट्रोलको गुणस्तर यथावत् रहेको तर २० हजार लिटरमध्ये ९७३ लिटर पेट्रोल चोरी भएको पुष्टि भएको निगमले जनाएको छ।

परीक्षणपछि बाँकी रहेको १९ हजार २७ लिटर पेट्रोल निगमको भण्डारणमा खन्याइएको छ। निगमको पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३ अनुसार चोरी भएको परिमाण बराबरको क्षतिको दोब्बर रकम ढुवानीकर्ताबाट असुल गरिएको पनि निगमले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*