भेनेजुएलामा शक्तिशाली जुम्ल्याहा भूकम्पः मृतकको संख्या ३२ नाघ्यो, ७०० भन्दा बढी घाइते

काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएला बुधबार साँझ दुर्लभ र विनाशकारी भूकम्पको चपेटामा परेको छ। करिब ३९ सेकेन्डको अन्तरमा आएका ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली जुम्ल्याहा भूकम्पले राजधानी काराकाससहित देशका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। प्रारम्भिक विवरणअनुसार कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने ७०० भन्दा बढी घाइते भएका छन्।
भूकम्पपछि सयौं घर तथा भवनहरू ध्वस्त भएका छन् भने हजारौं परिवार विस्थापित बनेका छन्। भूकम्पका कारण मुख्य अन्तर्राष्ट्रिय विमानस्थल समेत बन्द गरिएको छ। उद्धार टोलीहरू भग्नावशेषभित्र फसेकाहरूको खोजी तथा उद्धारमा जुटेका छन् भने सरकारले राष्ट्रिय आपत्काल घोषणा गर्दै सेना र आपत्कालीन संयन्त्र परिचालन गरेको छ।
संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षण संस्था (यूएसजीएस) का अनुसार पहिलो भूकम्प ७.२ म्याग्निच्युडको थियो भने त्यसको केही सेकेन्डपछि ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्पको झट्का महसुस गरिएको थियो। समान प्रकृतिका दुई शक्तिशाली भूकम्प छोटो समय आएकाले यसलाई जुम्ल्याहा भूकम्प अर्थात् ट्विन अर्थक्वीकको संज्ञा दिइएको छ। यूएसजीएसले मृतकहरूको सङ्ख्या १० हजार नाघ्ने सम्भावना ४४ प्रतिशत रहेको जनाएको छ।
जुम्ल्याहा भूकम्प सामान्य परकम्पभन्दा फरक र विनाशकारी हुन्छ। यस्तो अवस्थामा दोस्रो भूकम्प पनि पहिलोजत्तिकै वा अझ शक्तिशाली हुन सक्छ। पहिलो झट्काले संरचनाहरू कमजोर बनाइसकेको अवस्थामा दोस्रो झट्काले थप ठूलो विनाश निम्त्याउने भएकाले यसको क्षति सामान्य भूकम्पभन्दा धेरै बढी हुने गर्दछ।

भूकम्प आएको दिन भेनेजुएलामा सार्वजनिक बिदा भएकाले अधिकांश मानिसहरू घरमै रहेको हुन सक्ने अनुमान गरिएको छ। भूकम्पका कारण बिजुली र इन्टरनेट प्रभावित भएको छ भने भूकम्पको झट्का छिमेकी देश कोलम्बियाको राजधानीसम्म मसहूस गरिएको छ। अस्पतालहरू घाइतेले भरिएका छन् भने मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। भूकम्पको केन्द्र राजधानी काराकासबाट करिब २८० किलोमिटर पश्चिम क्षेत्रमा रहेको बताइएको छ। तर यसको क्षति काराकास, ला ग्वाइरा, मिरान्डा, काराबोबो, फाल्कोन र अरागुआ राज्यसम्म पुगेको छ।
भेनेजुएला क्यारिबियन र दक्षिण अमेरिकी टेक्टोनिक प्लेटको सीमाक्षेत्रमा पर्ने भएकाले भूकम्पीय दृष्टिले संवेदनशील मानिन्छ। यद्यपि यति छोटो समयको अन्तरमा ७ म्याग्निच्युडभन्दा माथिका दुई शक्तिशाली भूकम्प आउनु अत्यन्त दुर्लभ घटना भएको बताइएको छ। सन् २०१२ मा इन्डोनेसियाको सुमात्रा नजिक हिन्द महासागरमा ८.६ र ८.२ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प केही घण्टाको अन्तरालमै गएका थिए। यसलाई इतिहासको चर्चित जुम्ल्याहा भूकम्पमध्ये एक मानिन्छ।











