अमेरिकी डलर र सुनचाँदी जस्तो धातु सहित भारतीय नागरिक पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–२५ ठहिटीबाट अमेरिकी डलर तथा सुनचाँदी जस्तो देखिने धातु सहित सोही ठाउँ बस्ने भारत सांगली महाराष्ट्र तासगाव तालुका झारखण्ड घर भएका ३३ वर्षीय अमित इरगोन्डा घालीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
काठमाडौंको ज्याठा ठहिटी एरियामा अवैध रूपमा विदेशी विनिमय अमेरिकी डलर र राजस्व छली गरी सुनचाँदीहरू ओसारपसार, भण्डारण तथा बिक्री वितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अमितलाई अमेरिकी डलर ३४ हजार ५ सय, नेपाली नगद ७ लाख ३० हजार रूपैयाँ, ७५ ग्राम तौलको सुन जस्तो देखिने धातुका विभिन्न टुक्राहरू १७ थान र २ किलो ६ सय ग्राम तौलको चाँदी जस्तो देखिने धातुका विभिन्न आकारको टुक्राहरू सहित पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको प्रहरीले जानकारी दिएको छ।











