भक्तपुर नगरपालिकाको २ अर्ब ५५ करोड बजेट, शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकता

काठमाडौं । भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २ अर्ब ५५ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको बीसौं नगरसभामा उपप्रमुख रजनी जोशीले बजेट प्रस्तुत गर्दै नगरको विकास, सेवा विस्तार तथा जनकल्याणका कार्यक्रमलाई केन्द्रमा राखिएको जानकारी दिइन्।
नगरपालिकाले आन्तरिक आम्दानी, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट, विभिन्न अनुदान र बैंक मौज्दातको आधारमा उक्त बजेट व्यवस्थापन गर्ने जनाएको छ।
कुल बजेटमध्ये १ अर्ब ५५ करोड ८९ लाख रुपैयाँ चालु खर्चका लागि छुट्याइएको छ जुन कुल बजेटको ६१.१३ प्रतिशत हो। त्यस्तै ९३ करोड ३१ लाख रुपैयाँ पुँजीगत खर्चका लागि तथा ५ करोड ८० लाख रुपैयाँ वित्तीय व्यवस्थापनतर्फ विनियोजन गरिएको छ।
शिक्षा क्षेत्रलाई सबैभन्दा बढी प्राथमिकता दिँदै ५६ करोड २७ लाख ४० हजार रुपैयाँ बजेट छुट्याइएको छ। यो कुल बजेटको २२.०६ प्रतिशत हो। उक्त रकम शैक्षिक सुधार, विद्यालय विकास र गुणस्तरीय शिक्षाका कार्यक्रमहरूमा खर्च गरिने उल्लेख गरिएको छ।
स्वास्थ्य सेवाको स्तर उकास्न नगरपालिकाले ख्वप अस्पतालको स्तरोन्नतिका लागि विशेष बजेट व्यवस्था गरेको छ। अस्पतालमा एमआरआई र आईसीयू सेवा सञ्चालन गर्न २३ करोड रुपैयाँ विनियोजन गरिएको छ। समग्र स्वास्थ्य क्षेत्रका कार्यक्रमका लागि ३५ करोड ६४ लाख रुपैयाँ बजेट छुट्याइएको छ।
नगरपालिकाले सम्पदा संरक्षण तथा पुनःनिर्माणका लागि ७ करोड ९० लाख रुपैयाँ विनियोजन गरेको छ। भौतिक पूर्वाधार विकासका कार्यक्रमका लागि ३५ करोड रुपैयाँ, पर्यटन प्रवर्द्धनका लागि ३ करोड ८० लाख रुपैयाँ तथा वातावरण संरक्षण र फोहोर व्यवस्थापनका लागि २३ करोड १५ लाख ८० हजार रुपैयाँ बजेट छुट्याइएको छ।
खेलकुद पूर्वाधार निर्माण र खेलकुद विकासका कार्यक्रमका लागि ३ करोड ७५ लाख रुपैयाँ छुट्याइएको छ। साथै विपद् व्यवस्थापन तथा उद्धार र पुनःस्थापनाका कार्यलाई प्रभावकारी बनाउन प्रकोप व्यवस्थापन कोषका लागि ४० लाख रुपैयाँ विनियोजन गरिएको छ।
कृषि क्षेत्रको विकासलाई समेत प्राथमिकतामा राख्दै नगरपालिकाले कृषि पूर्वाधार निर्माण, उत्पादनको बजारीकरण, अनुदान तथा सहुलियत कार्यक्रम, प्राङ्गारिक खेती प्रवद्र्धन, वातावरण संरक्षण र अध्ययन–अनुसन्धानका लागि आवश्यक बजेट व्यवस्था गरेको जनाएको छ।











