चौतारा साँगाचोकगढी नगरपालिकाले ल्यायो १ अर्ब १९ करोड बढीको बजेट

काठमाडौं । चौतारा साँगाचोकगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब १९ करोड ७५ लाख ८१ हजार ७४४ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको २०औँ नगरसभामा उपप्रमुख सीता थापाले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै आगामी वर्षका लागि आय–व्ययको अनुमानित विवरण सार्वजनिक गरेकी हुन्।
नगरपालिकाले संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँड र आन्तरिक आयलाई मुख्य स्रोतका रूपमा आधार मानेर बजेट निर्माण गरेको जनाएको छ। बजेटअनुसार संघीय सरकारबाट ससर्त अनुदानतर्फ ४७ करोड ७ लाख रुपैयाँ र समानीकरण अनुदानतर्फ १८ करोड ३८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
यस्तै संघीय राजस्व बाँडफाँडबाट ११ करोड ५२ लाख रुपैयाँ तथा बागमती प्रदेश सरकारबाट १ करोड ७७ लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ। नगरपालिकाले आगामी वर्ष आन्तरिक स्रोतबाट १३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य समेत लिएको छ।
नगरपालिकाले शिक्षा, युवा तथा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै ५ करोड १७ लाख रुपैयाँ विनियोजन गरेको छ। स्थानीय विकासलाई वडास्तरसम्म प्रभावकारी रूपमा विस्तार गर्ने उद्देश्यसहित १ देखि १४ नम्बर वडासम्मका योजनाका लागि ११ करोड ९० लाख रुपैयाँ छुट्याइएको छ। पूर्वाधार विकासतर्फ ४ करोड रुपैयाँ विनियोजन गरिएको छ भने स्वास्थ्य र कृषि क्षेत्रका लागि समान रूपमा १ करोड ८२ लाख ७० हजार रुपैयाँका दरले बजेट व्यवस्था गरिएको छ।
विपद् व्यवस्थापनका लागि १ करोड रुपैयाँ, लक्षित वर्गका कार्यक्रमका लागि १ करोड ३० लाख ५० हजार रुपैयाँ, सहिद परिवार कार्यक्रमका लागि २६ लाख १० हजार रुपैयाँ तथा स्वास्थ्य बीमा कार्यक्रमका लागि ८७ लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै मागमा आधारित कार्यक्रम सञ्चालनका लागि १ करोड ३० लाख ५० हजार रुपैयाँ छुट्याइएको छ।
सुकुटे पर्यटकीय क्षेत्रको पूर्वाधार विकासका लागि ४३ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ। कार्यालय सञ्चालन तथा प्रशासनिक व्यवस्थापनका लागि १६ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। यता क्रमागत योजनाहरूको भुक्तानी दायित्व पूरा गर्न १ करोड ३० लाख ५० हजार रुपैयाँ बजेटमा विनियोजन गरिएको छ।












