झुटो नागरिकता सिफारिस गर्ने वडाध्यक्ष र सदस्य पक्राउ

११ असार २०८३, बिहीबार १८:३०

काठमाडौँ ।  झुटो विवरणका आधारमा अङ्गीकृत नेपाली नागरिकताका लागि सिफारिस गरेको आरोपमा मोरङको रंगेली नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष र एक जना वडा सदस्य पक्राउ परेका छन्।

बिहीबार पक्राउ पर्नेमा रंगेली नगरपालिका वडा नं. ५ का ५५ वर्षीय वडा अध्यक्ष महानन्द मण्डल र सोही वडाका ४६ वर्षीय वडा सदस्य गणेश ऋषिदेव रहेका छन्।

प्रहरीका अनुसार रंगेली–५ निवासी मनुवा कुमार महतोले अधनुनिया महतो आफ्नो आमा भएको भनी झुटो विवरण पेस गरेका थिए। उक्त विवरणलाई आधार मानी वडा अध्यक्ष मण्डल र वडा सदस्य ऋषिदेवले अङ्गीकृत नेपाली नागरिकता प्राप्तिका लागि सर्जमिन मुचुल्का तथा सिफारिस उपलब्ध गराएका थिए।

नागरिकता सिफारिसका क्रममा पेस गरिएको विवरण झुटो रहेको तथ्य खुलेपछि जिल्ला प्रशासन कार्यालय मोरङले आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा पठाएको थियो।

जिल्ला प्रहरी कार्यालय मोरङले वडा अध्यक्ष मण्डल र वडा सदस्य ऋषिदेवलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*