हेटौंडाका चर्चित व्यवसायी अजेय सुमार्गीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

काठमाडौं । हेटौंडाका चर्चित व्यवसायी अजेयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरणको आशंकामा अनुसन्धान तीव्र बनाइएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आग्रहपछि अध्यागमन विभागले उनको पासपोर्ट समेत रोक्का गरेको छ।
विभागले सुमार्गीमाथि विदेशबाट नेपाल भित्रिएको ठूलो परिमाणको लगानीको स्रोत र कारोबारबारे विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा साइप्रस र ब्रिटिस भर्जिन आइल्यान्ड्समा दर्ता भएका कम्पनीमार्फत नेपालमा रकम ल्याइएको विषय शंकास्पद देखिएपछि थप छानबिन सुरु गरिएको हो।
यसअघि २०७४ सालमै विभागले प्रारम्भिक अध्ययन गरेको थियो। त्यतिबेला विदेशबाट भित्रिएको अर्बौं रुपैयाँको स्रोत स्पष्ट नभएको निष्कर्ष निकालिए पनि अनुसन्धानले अपेक्षित गति लिन सकेको थिएन। अहिले सोही विषयलाई पुनः प्राथमिकतामा राखेर विस्तृत अनुसन्धान अघि बढाइएको छ।
अनुसन्धानका क्रममा सुमार्गीले विभिन्न विदेशी कम्पनीमार्फत करिब ११ अर्ब रुपैयाँ नेपाल भित्र्याएको देखिएको छ। तीमध्ये ठूलो रकम साइप्रसस्थित एयरवेल सर्भिसेज र ब्रिटिस भर्जिन आइल्यान्ड्सस्थित जोधार इन्भेस्टमेन्टमार्फत आएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ। उक्त रकम वैदेशिक लगानीको प्रक्रिया पूरा नगरी ल्याइएको हुन सक्ने आशंकामा विभागले अनुसन्धान गरिरहेको छ।
यसअघि नेपाल राष्ट्र बैंकले पनि विदेशबाट आएको करिब साढे ३ अर्ब रुपैयाँ शंकास्पद भन्दै रोक्का गरेको थियो। आवश्यक कागजात नपुगेका कारण केही रकम विभिन्न बैंकमा रोकिएको भए पनि पछि त्यसको निकासा भएको थियो। महालेखा परीक्षकको प्रतिवेदनमा पनि सुमार्गीसँग सम्बन्धित कम्पनीहरूले शेयर कारोबारका क्रममा करिब १ अर्ब ४० करोड रुपैयाँभन्दा बढी कर छली गरेको उल्लेख गरिएको छ।











