अनुगमनकै क्रममा सहायक प्रमुख जिल्ला अधिकारीको खानामा कीरा, होटललाई ५० हजार जरिवाना

१२ असार २०८३, शुक्रबार १३:४४

काठमाडौँ । पश्चिम नवलपरासीमा खाद्य स्वच्छतासम्बन्धी गम्भीर लापरबाही सार्वजनिक भएपछि एक होटललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनका क्रममा चितवनको एक होटलमा गृहमन्त्रीसहितको टोलीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको घटना सेलाउन नपाउँदै पश्चिम नवलपरासीमा पनि यस्तै प्रकृतिको अर्को घटना बाहिर आएको हो।

जिल्लाको बर्दघाट नगरपालिका–२ चिसापानीस्थित रोयल कटेज प्रालिलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको आरोपमा ५० हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रशासनका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारी नेतृत्वको टोली बालमैत्री स्थानीय तह घोषणासम्बन्धी अनुगमनका क्रममा बिहीबार उक्त होटलमा खाना खान पुगेको थियो। खाना खाने क्रममा सागमा सङ्खे कीरा भेटिएपछि घटनाबारे तत्काल सम्बन्धित निकायलाई जानकारी गराइएको थियो।

त्यसपछि जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयलगायतका निकायको संयुक्त अनुगमन टोलीले होटलमा छड्के निरीक्षण गरेको थियो। अनुगमनका क्रममा होटलमा प्रयोग भइरहेका खाद्य सामग्री, भान्साको सरसफाइ तथा तयार पारिएका परिकारसमेत खाद्य स्वच्छता मापदण्डविपरीत र अस्वस्थकर अवस्थामा रहेको भेटिएको प्रशासनले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*