अम्बेको व्यापारमा संकुचित: नाफा १८ करोडमा खुम्चियो, ऋण तिर्न ३०३ रुपैयाँमा आईपीओ निकाल्ने दाउ

१२ असार २०८३, शुक्रबार १७:२४

काठमाडौँ । प्रतिकित्ता ३०३ रुपैयाँमा प्रिमियम आईपीओ निष्कासन गर्ने तयारीमा रहेको अम्बे ग्रुपहअन्तर्गतको अम्बे स्टिल्स लिमिटेडको व्यापार सुस्त देखिएको छ । आम सर्वसाधारणबाट प्रिमियम मूल्यमा अर्बौं रुपैयाँ उठाउने योजनासहित कम्पनी नेपाल धितोपत्र बोर्ड पुगेको भए पनि कम्पनीको व्यापार, नाफा तथा ऋणसम्बन्धी वित्तीय सूचकहरूले भने कमजोर देखिएका हो ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा २०३ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ३०३ रुपैयाँका दरले १ करोड ११ लाख ९२ हजार ७२७ कित्ता शेयर निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । यसबाट कम्पनीले कुल ३ अर्ब ३९ करोड १३ लाख ९६ हजार रुपैयाँ सर्वसाधारणबाट उठाउने योजना बनाएको छ । तर, यति ठूलो रकम प्रिमियममा उठाउने तयारी गरिरहँदा कम्पनीको पछिल्लो व्यापार विस्तार भने सुस्त बन्दै गएको देखिन्छ ।

कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा सञ्चालन आम्दानी ६ अर्ब १८ करोड ८० लाख रुपैयाँमा सीमित भएको छ । अघिल्ला वर्षहरूको तुलनामा हेर्दा कम्पनीको व्यापारमा निरन्तर उतारचढाव देखिएको छ । आर्थिक वर्ष २०७८/७९ मा १० अर्ब ८७ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीको व्यापार त्यसको अर्को वर्ष घटेर ८ अर्ब ३४ करोड ८० लाख रुपैयाँमा झरेको थियो । आर्थिक वर्ष २०८०/८१ मा झन् घटेर ८ अर्ब ५ करोड ९० लाख रुपैयाँ पुगेको व्यापार आर्थिक वर्ष २०८१/८२ मा केही सुधार भई ९ अर्ब १० करोड ९० लाख रुपैयाँ पुगे पनि चालु वर्षको नौ महिनाको तथ्यांकले व्यापार फेरि दबाबमा परेको देखिएको हो ।

त्यस्तै, ब्याज, कर, मूल्यह्रास तथा अमूर्त सम्पत्तिको खर्च कटौतीअघिको सञ्चालन नाफा पनि ७५ करोड रुपैयाँ बाट सामान्य वृद्धि भई ७६ करोड ५० लाख रुपैयाँ पुगेको छ । यता, करपछिको खुद नाफा २३ करोड रुपैयाँ बाट घटेर १८ करोड ९० लाख रुपैयाँमा झरेको छ ।

पछिल्ला केही वर्षयता नेपालमा प्रिमियममा आईपीओ ल्याउने कम्पनीहरूको संख्या बढ्दो छ । कतिपय कम्पनीले शेयर बजारमार्फत सहज रूपमा ठूलो रकम जुटाउने अवसरलाई उपयोग गर्दै लगानीकर्ताबाट महँगो मूल्यमा पूँजी संकलन गर्ने रणनीति अपनाइरहेका छन् । यस्तो अवस्थामा कम्पनीको वास्तविक व्यापार, वित्तीय क्षमता, ऋणको अवस्था तथा भविष्यको सम्भावनाभन्दा पनि प्रिमियम मूल्यमा शेयर बिक्री गरेर पूँजी जुटाउने प्रवृत्ति बढ्दै गएको देखिन्छ । यसले कम्पनीहरूको वित्तीय अवस्थालाई सूक्ष्म रूपमा मूल्यांकन नगरी लगानी गर्ने सर्वसाधारण लगानीकर्तालाई जोखिममा पार्न सक्ने खतरा हुन्छ ।

कम्पनीको सञ्चालन नाफाको गुणस्तर पनि पछिल्लो अवधिमा कमजोर बन्दै गएको देखिन्छ । ब्याज, कर, मूल्यह्रास तथा परिशोधनअघिको सञ्चालन नाफा (इबिट्डा) मार्जिन आर्थिक वर्ष २०७८/७९ मा ४.९१ प्रतिशत रहेकोमा २०७९/८० मा ६.४३ प्रतिशत र २०८०/८१ मा ९.३० प्रतिशतसम्म पुगेको थियो। तर, आर्थिक वर्ष २०८१/८२ मा यो घटेर ८.४० प्रतिशतमा झ-यो भने चालु आर्थिक वर्षको पहिलो नौ महिनामा थप घटेर ६.७७ प्रतिशतमा सीमित भएको छ ।

कम्पनीको ब्याज तिर्न सक्ने क्षमता पनि बलियो देखिँदैन । ब्याज आवरण अनुपात आर्थिक वर्ष २०७८/७९ मा १.२७ गुणा, २०७९/८० मा १.२१ गुणा, २०८०/८१ मा १.९० गुणा र २०८१/८२ मा २.१६ गुणा पुगेको थियो। तर चालु आर्थिक वर्षको पहिलो नौ महिनामा यो अनुपात फेरि घटेर १.४२ गुणामा झरेको छ । अर्थात् सञ्चालन नाफाले ब्याज खर्च धान्ने क्षमता फेरि कमजोर बन्दै गएको देखिन्छ ।

ऋणको भार पनि कम्पनीका लागि अर्को चुनौती बनेको छ । कुल ऋण र इबिट्डाबीचको अनुपात आर्थिक वर्ष २०७८/७९ मा ७.६३ गुणा, २०७९/८० मा ७.२९ गुणा, २०८०/८१ मा ५.६० गुणा र २०८१/८२ मा ६.१८ गुणा रहेको थियो। तर चालु आर्थिक वर्षको पहिलो नौ महिनामा यो अनुपात ह्वात्तै बढेर १४.६६ गुणा पुगेको छ ।

कम्पनीको समग्र गियरिङ अनुपातले पनि ऋणमा निर्भरता बढेको देखाएको छ । आर्थिक वर्ष २०७८/७९ मा २.८३ गुणा रहेको यो अनुपात २०७९/८० मा २.३६ गुणा र २०८०/८१ मा २.२२ गुणासम्म घटेको थियो । तर आर्थिक वर्ष २०८१/८२ मा २.३० गुणा पुगेको यो अनुपात चालु आर्थिक वर्षको पहिलो नौ महिनामा बढेर ३.०२ गुणा पुगेको छ । कम्पनीको पुँजीको तुलनामा ऋण तीन गुणाभन्दा बढी पुगेको अवस्था छ ।

अम्बे स्टिल्स प्रालि २०६४ भदौ १० गते स्थापना भएको कम्पनी हो । कम्पनीलाई २०८० कात्तिक २ गते अम्बे स्टिल्स लिमिटेडमा रूपान्तरण गरिएको थियो । कम्पनीको उत्पादन उद्योग रुपन्देहीको भैरहवास्थित गोनाहा गाविस वडा नम्बर ६ मा अवस्थित छ। कम्पनीले थर्मो मेकानिकल ट्रीटमेन्ट (टीएमटी) स्टिल बार, बिलेट, जस्ती तार तथा ग्याबियन बक्स उत्पादन गर्दै आएको छ । टीएमटी स्टिल बार, बिलेट तथा जस्ती तारको संयुक्त वार्षिक जडित उत्पादन क्षमता २ लाख ३८ हजार ४ सय मेट्रिक टन रहेको छ भने ग्याबियन बक्स उत्पादन क्षमता वार्षिक ३० लाख वर्गमिटर रहेको छ ।

२०८३ वैशाख मध्यसम्मको विवरणअनुसार कम्पनीमा शोभाकर न्यौपानेको २४ प्रतिशत, शिवाज न्यौपानेको १८ प्रतिशत, सज्जन अग्रवालको १२.५० प्रतिशत तथा शिवानी न्यौपानेको ११ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*