मन्दिर निर्माणमा २२ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा

काठमाडौं । बझाङको छविसपाथिभेरा गाउँपालिका–६ स्थित बाँठपाली देवता मन्दिर निर्माणका क्रममा २२ लाख रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको आरोपमा ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५/०७६ मा सञ्चालन गरिएको उक्त योजनामा वास्तविक कामभन्दा बढी काम भएको देखाई अस्वाभाविक दररेट कायम गरी तथा जनसहभागिताको रकमसमेत कम कट्टा गरेर झुट्टा बिलका आधारमा २२ लाख १ हजार ६६५ रुपैयाँ भुक्तानी गरिएको निष्कर्ष निकाल्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ पर्यटन गन्तव्य विकास कार्यक्रमअन्तर्गत बाँठपाली देवता मन्दिर निर्माणका लागि ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। कुल लागत अनुमान ५६ लाख ७ हजार ८९७ रुपैयाँ रहेको योजनामा बाँकी रकम जनसहभागिताबाट जुटाउने भनिएको थियो। अनुसन्धानका क्रममा दुर्गाथली गाउँपालिका र छविसपाथिभेरा गाउँपालिकाका जिम्मेवार पदाधिकारी, प्राविधिक तथा उपभोक्ता समितिका पदाधिकारीबीच मिलेमतो गरी रकम हिनामिना गरिएको पुष्टि भएपछि अख्तियारले मुद्दा चलाएको हो।
आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, लेखापाल प्रेम प्रसाद पौडेल, इन्जिनियर हिक्मत रावल र सब–इन्जिनियर बम बहादुर बोहरा विरुद्ध २२ लाख १ हजार ६६५ रुपैयाँ बिगो कायम गरी कैद, जरिवाना र बिगो असुल गर्न माग गरेको छ। उनीहरूमाथि झुट्टा प्रतिवेदन दिएको आरोपसमेत लगाइएको छ।
यस्तै तत्कालीन गाउँपालिका उपाध्यक्ष राधिका कुमारी रताला र वडा नं. ६ का तत्कालीन वडा अध्यक्ष मोहन लाल विक विरुद्ध झुट्टा प्रतिवेदनसँग सम्बन्धित कसुरमा कैद र जरिवानाको माग गरिएको छ। त्यसैगरी श्री बाँठपाली देवता मन्दिर निर्माण समितिका अध्यक्ष कृष्ण बहादुर बुढा, सचिव जय बहादुर बुढा र कोषाध्यक्ष मधुली देवी बुढालाई भ्रष्टाचारमा मतियार बनेको आरोप लगाउँदै मुख्य कसुरदारसरह सजायको माग गरिएको छ।











