पासपोर्ट भ्रष्टाचार प्रकरण : ५ जनालाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । विशेष अदालतले राहदानी (पासपोर्ट) खरिद प्रक्रियासँग सम्बन्धित भ्रष्टाचार मुद्दामा आरोपित पाँच जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।
विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले आरोपितहरूको संलग्नता, मुद्दाको प्रकृति र उपलब्ध प्रमाणको प्रारम्भिक मूल्यांकनका आधारमा उनीहरूलाई विभिन्न रकम धरौटी बुझाएर थुनामुक्त हुन सक्ने आदेश दिएको हो।
अदालतको आदेशअनुसार राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसँग ५ लाख रुपैयाँ धरौटी माग गरिएको छ। त्यस्तै विभागका निर्देशक सुनिलकुमार केसीलाई ४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको छ।
यसैगरी विभागका कर्मचारी सोमेश थापा र विपिन प्रसाईंसँग जनही ३–३ लाख रुपैयाँ धरौटी मागिएको छ। ठेकेदार पक्षका नेपाल एजेन्ट मणिन्द्रराज मल्लसँग भने ५ लाख रुपैयाँ धरौटी मागिएको अदालतले जनाएको छ।
यता, सोही मुद्दामा आरोपित तुलसीप्रसाद आचार्य र राजाराम दाहाललाई भने धरौटी नलिई साधारण तारेखमा रिहा गर्न विशेष अदालतले आदेश दिएको छ।











