भृकुटीमण्डपमा ‘मोबिलिटीको महाकुम्भ’: नाइमा एक्स्पोमा नयाँ सवारीको आकर्षण, हेर्नुहोस् तस्बिरहरु

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा दोस्रो संस्करणको नाइमा मोबिलिटी एक्स्पो मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । आगामी ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोले नेपाली अटोमोबाइल बजारमा भित्रिँदै गरेका नयाँ प्रविधि, विद्युतीय सवारीको विस्तार, सडक सुरक्षा र सरकारको सवारीसम्बन्धी नीतिमाथि बहसलाई एकै ठाउँमा ल्याएको हो ।
एक्स्पोमा ५५ वटाभन्दा बढी सवारी ब्रान्डको सहभागिता छ । सहभागी कम्पनीहरूले करिब ५० वटा नयाँ सवारी सार्वजनिक गरेको छ । ५२ वटा स्टलमा सजिएको प्रदर्शनीमा दुईपांग्रे, चारपांग्रे, व्यावसायिक सवारी, विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोलुसन, प्रविधि, सेवा र मोबिलिटीसँग सम्बन्धित विभिन्न उत्पादन तथा समाधानहरू प्रदर्शनमा राखिएका छन् ।

नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले एक्स्पोलाई केवल नयाँ सवारी प्रदर्शन गर्ने थलोका रूपमा सीमित नगरी नेपालको समग्र मोबिलिटी क्षेत्रको विकाससँग जोड्नुपर्ने बताइन् । उनका अनुसार नाइमाले मोबिलिटी एक्स्पोसँगै क्षमता अभिवृद्धि, सडक सुरक्षा तथा ज्ञान सिर्जनालगायतका क्षेत्रमा समेत काम गर्दै आएको छ ।

सवारी प्रविधि तीव्र गतिमा परिवर्तन भइरहेका बेला त्यसअनुसार सरकारी नीति पनि परिमार्जन हुनुपर्ने वैद्यको भनाइ छ । उनका अनुसार सवारीसाधनलाई केवल विलासी वस्तु वा सरकारका लागि राजस्व संकलनको माध्यमका रूपमा हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक छ ।
‘सवारीसाधन विलासी वस्तु, राजस्वको स्रोत मात्र नभई मोबिलिटीको महत्वपूर्ण माध्यम हो । त्यसैले सरकारले हेर्ने दृष्टिकोण पनि सोहीअनुसार हुनुपर्छ,’ वैद्यले भनिन् ।

नेपालमा सवारीसाधनको एसेम्बलिङबाट दीर्घकालीन रूपमा उत्पादनतर्फ अघि बढ्न सकिने सम्भावना रहेको उल्लेख गर्दै उनले त्यसका लागि सरकारले स्थिर नीति र सहुलियतको वातावरण बनाउनुपर्ने बताइन् । नेपालमै एन्सिलरी उद्योग विकासका लागि स्थिर नीतिसहितको सहुलियत उपलब्ध गराउन सके स्वदेशमा सवारी एसेम्बलिङ तथा उत्पादनको आधार विस्तार गर्न व्यवसायीलाई सहज हुने उनको भनाइ छ ।
एक्स्पो उद्घाटनका क्रममा सडक सुरक्षाको विषय पनि उत्तिकै प्राथमिकताका साथ उठ्यो । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सुरक्षित सवारीसाधनको प्रयोगबाट यात्रुको सुरक्षा सुनिश्चित हुने भएकाले नेपालमा आयात तथा उत्पादन हुने सवारीसाधन सुरक्षाका दृष्टिले उपयुक्त हुनुपर्ने बताए ।

उनका अनुसार सवारीसाधनको सुरक्षा केवल गाडीको गुणस्तरसँग मात्र सम्बन्धित विषय होइन । सवारी उत्पादनको इन्जिनियरिङ, सडक इन्जिनियरिङ, ट्राफिक व्यवस्थापनदेखि चालक तथा प्रयोगकर्ताको ज्ञानसम्मका विषय एकअर्कासँग जोडिएका छन् । त्यसैले सडक दुर्घटना न्यूनीकरणका लागि यी सबै पक्षमा एकसाथ ध्यान दिनुपर्ने उनले बताए ।
नेपालमा सडक दुर्घटनाको अवस्था अझै चुनौतीपूर्ण रहेको तथ्यांक प्रस्तुत गर्दै कार्कीले दुर्घटना न्यूनीकरणमा सबै पक्ष गम्भीर बन्नुपर्ने बताए । उनका अनुसार पछिल्लो वर्ष २९ हजार ९ सय ८८ वटा सवारी दुर्घटना भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ४ प्रतिशतभन्दा बढी हो । दुर्घटनामा मोटरसाइकलको हिस्सा मात्रै ५९ प्रतिशत रहेको उनले बताए ।

विद्युतीय सवारीको प्रयोग बढिरहेका बेला त्यसको पार्टपुर्जा र सर्भिसिङसँग सम्बन्धित गुनासो उपभोक्ताबाट आउन थालेको पनि कार्कीले उल्लेख गरे । विद्युतीय सवारीको विस्तारसँगै आवश्यक प्राविधिक जनशक्ति, पार्टपुर्जा तथा बिक्रीपछिको सेवाको व्यवस्था पनि सुदृढ हुनुपर्ने उनको भनाइ छ ।
त्यस्तै, नेपालमा आयात हुने सवारीसाधन देशको भौगोलिक अवस्था र सडक संरचनाअनुकूल हुनुपर्नेमा पनि उनले जोड दिए । नेपालको बाटो, भूगोल र प्रयोगको प्रकृतिलाई ध्यान नदिई सवारी आयात गर्दा त्यसले सुरक्षासँगै दीर्घकालीन उपयोगितामा समेत समस्या ल्याउन सक्ने उनको भनाइ छ ।
नाइमा मोबिलिटी एक्स्पोले यसपटक नयाँ मोडल र ब्रान्डको प्रदर्शनलाई विशेष प्राथमिकता दिएको छ । एक्स्पोमा दुईपांग्रे सवारीतर्फ १८ र चारपांग्रेतर्फ २९ नयाँ मोडल सार्वजनिक भएका छन् । यात्रुबाहक विद्युतीय सवारीसहित पछिल्लो समय नेपाली बजारमा प्रवेश गरिरहेका विभिन्न विद्युतीय तथा हाइब्रिड प्रविधिका सवारी पनि प्रदर्शनीमा राखिएका छन् ।

चारपांग्रे सवारीतर्फ आर्कफक्स, बीएआईसी, सिट्रोन, फोरथिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टस्, होनरी बोमा, हुन्डाई, आईकार, केई, किया, लिपमोटर, महिन्द्रा, म्याक्सस, एमजी जीओ अटोमोबाइल्स, एमजी पारामाउन्ट मोटर्स, निसान, ओमोडा एन्ड जेइको, प्युजो, प्रोटोन, टाटा, टोयोटा, विलिङ र जिकरलगायतका ब्रान्ड सहभागी छन् ।
दुईपांग्रे सवारीतर्फ एथर, बजाज, सीएफमोटो, जीहो, गारो, होन्डा, केरेन, केटीएम, मर्बिडेली, उनआईयू, प्युजो, रोयल इनफिल्ड, सुजुकी, ट्रायम्फ, टीभीएस, अल्ट्राभोइलेट, याडिया र एक्सजेड मोटो सहभागी छन् । व्यावसायिक सवारीसाधनतर्फ चेरी वान्डा, क्यारी, किटोन र स्काइवर्थलगायतका ब्रान्डले सहभागिता जनाएका छन् ।

नेपालको अटोमोबाइल बजार विद्युतीय सवारीतर्फ तीव्र रूपमा मोडिँदै गएको अवस्थामा आयोजना भएको यसपटकको एक्स्पोमा नयाँ सवारी र प्रविधिको प्रदर्शनसँगै नीति, पूर्वाधार, सुरक्षा र उपभोक्ता सेवाको प्रश्न पनि केन्द्रमा आएको छ । एकातिर उत्पादक तथा व्यवसायीले स्थिर नीति, लगानीमैत्री वातावरण र स्वदेशी एसेम्बलिङ तथा उत्पादनका लागि सहुलियत मागिरहेका छन् भने अर्कोतर्फ सुरक्षा निकायले सवारीको गुणस्तर, सडकअनुकूलता र बिक्रीपछिको सेवामा ध्यान दिनुपर्ने आवश्यकता औँल्याएको छ ।
त्यसैले दोस्रो नाइमा मोबिलिटी एक्स्पो नेपाली अटोमोबाइल बजारमा नयाँ मोडल र ब्रान्ड भित्र्याउने प्रदर्शनी मात्र नभई नेपालको भविष्यको मोबिलिटी कस्तो हुने भन्ने बहस गर्ने महत्वपूर्ण मञ्चका रूपमा समेत देखिएको छ । प्रविधिको तीव्र परिवर्तनसँगै विद्युतीय र हाइब्रिड सवारीको विस्तार, स्वदेशमै उत्पादनको सम्भावना, सडक सुरक्षाको चुनौती र उपभोक्तालाई भरपर्दो बिक्रीपछिको सेवा उपलब्ध गराउने विषयले आगामी दिनमा नेपालको अटोमोबाइल क्षेत्रको दिशा निर्धारण गर्ने देखिन्छ ।




















