१५८ किमि रेन्जसहित टीभीएस अर्बिटर नेपालमा, मूल्य २ लाख ८१ हजार

२६ श्रावण २०८३, मंगलवार १६:३६

काठमाडौं । नाइमा मोबिलिटी एक्स्पोमा टीभीएस मोटर कम्पनीले आफ्नो नयाँ विद्युतीय स्कुटर ‘टीभीएस अर्बिटर’ सार्वजनिक प्रदर्शनमा राखेको छ । नेपालमा टीभीएसका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले यो मोडल नेपाली बजारमा ल्याएको हो ।

आधुनिक प्रविधि, कनेक्टेड फिचर र फरक डिजाइनलाई केन्द्रमा राखेर तयार गरिएको अर्बिटरमा ३.१ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको छ । कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्ज गरेपछि अधिकतम १५८ किलोमिटरसम्म यात्रा गर्न सक्छ ।

अर्बिटरको अर्को विशेषता यसको १४ इन्चको अगाडिको पाङ्ग्रा हो । कम्पनीले विद्युतीय स्कुटरको सेग्मेन्टमै पहिलोपटक यस्तो आकारको फ्रन्ट ह्विल प्रयोग गरिएको जनाएको छ । स्कुटरमा क्रुज कन्ट्रोल, हिल होल्ड असिस्ट, पार्किङ असिस्ट र रिजेनेरेटिभ ब्रेकिङजस्ता सुविधा दिइएका छन् । चालकले आवश्यकता अनुसार ‘इको’ र ‘पावर’ मोड पनि छनोट गर्न सक्नेछन् ।

सुरक्षासँगै डिजिटल कनेक्टिभिटीलाई समेत प्राथमिकता दिइएको अर्बिटरमा दुर्घटनासम्बन्धी सूचना दिने प्रणाली, स्कुटर लडेको अवस्थामा जानकारी दिने सुविधा, जियो–फेन्सिङ तथा टाइम–फेन्सिङ उपलब्ध छन् । त्यस्तै, चोरी नियन्त्रण प्रणाली र लाइभ लोकेसन ट्र्याकिङले स्कुटरको निगरानीलाई थप सहज बनाउने कम्पनीको भनाइ छ ।

दैनिक प्रयोगलाई ध्यानमा राख्दै स्कुटरमा ३४ लिटर क्षमताको बुट स्पेस राखिएको छ । २९० मिलिमिटरको फराकिलो स्ट्रेट–लाइन फुटबोर्ड तथा ८४५ मिलिमिटर लामो सिटका कारण चालक र पछाडि बस्ने यात्रुका लागि पर्याप्त ठाउँ उपलब्ध हुने कम्पनीले जनाएको छ ।

अर्बिटरको अगाडिको भागमा इन्टिग्रेटेड इन्डिकेटरसहितको ‘एज–टु–एज’ लाइट डिजाइन प्रयोग गरिएको छ । कलर एलसीडी क्लस्टरमार्फत कल, एसएमएसलगायत विभिन्न व्यक्तिगत सूचना तथा अलर्ट हेर्न सकिन्छ । स्कुटरको सफ्टवेयरलाई समयअनुसार अद्यावधिक गर्न ‘ओटीए’ अपडेटको सुविधा पनि उपलब्ध गराइएको छ ।

नेपाली बजारमा टीभीएस अर्बिटरको सुरुआती मूल्य २ लाख ८१ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीले यसलाई नियोन सनबस्र्ट, कश्मिक टाइटेनियम र मार्सियन कपर गरी तीन रङमा उपलब्ध गराउने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*