अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्छः अर्थमन्त्री डा. वाग्ले

२७ श्रावण २०८३, बुधबार ०८:४०

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्ने बताएका छन्। मङ्गलबार साँझ रामशाहपथमा रहेको राष्ट्रिय अभिलेखालयको अवलोकन गर्दै उनले त्यहाँ रहेका ऐतिहासिक, राजनीतिक, धार्मिक इतिहास र सांस्कृतिक दस्तावेजको जगेर्ना गर्नु अपरिहार्य रहेको बताएका हुन्।

राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक दस्तावेजहरू नेपालको अमूल्य सम्पत्ति रहेको र तिनलाई भविष्यका लागि सुरक्षित सङ्ग्रह गर्नु अनिवार्य भएको उनको भनाइ छ। “यहाँ रहेका ऐतिहासिक, राजनीतिक, धार्मिक इतिहास र सांस्कृतिक दस्तावेजको जगेर्ना गर्नु अपरिहार्य छ। नेपालका ऐतिहासिक दस्तावेजहरूलाई सुरक्षित राख्न गर्नुभएको प्रयासका लागि यहाँहरूलाई धन्यवाद।” अर्थमन्त्री वाग्लेले अभिलेखालयका कर्मचारीहरूलाई भने, “अध्येता, विद्यार्थी र इतिहासमा चासो रहेकाहरूका लागि यो ज्ञान केन्द्र बन्नुपर्छ। यसको संरक्षणमा सबैले काम गरौँ।”

अवलोकनका क्रममा उनेल ऐतिहासिक शासन व्यवस्थाका आर्थिक र राजनीतिक गतिविधिका सङ्ग्रहहरूबारे संक्षिप्त जानकारी लिएका थिए। सो क्रममा अर्थमन्त्री वाग्लेले अभिलेखालयले प्राप्त गर्दै आएको बजेट तथा कार्यक्रम प्रभावकारी भए–नभएको सन्दर्भमा पनि कर्मचारीहरूसँग चासो राखेका थिए।

अर्थमन्त्री डा. वाग्लेलाई अभिलेखालयको अवलोकन गराउँदै पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले स्रोत र साधनको अभावमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक र राजनीतिक दस्तावेजहरू संरक्षण गर्नु चुनौतीपूर्ण बनेको बताए।

अभिलेखालयले सुरक्षित र सुविधासम्पन्न भौतिक पूर्वाधार नपाउँदा अभिलेखहरूको सुरक्षा गर्न कठिन बनेको उनको भनाइ छ। अभिलेखालयले स्रोतको अभावमा यसको महत्त्वबारे अध्येता, विद्यार्थी र सरकारसमेतलाई यथेष्ट रूपमा बुझाउन नसकेको उनले बताए। महानिर्देशक प्रधानाङ्गले नयाँ स्थानमा जग्गासहितको भवन निर्माण, अभिलेख सुरक्षित गर्न नयाँ प्रविधिको प्रयोग र कर्मचारीको क्षमता वृद्धिमा बजेटमार्फत लगानी गरिदिन पनि अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*