सरकारको कामप्रति सचिवहरू नै असन्तुष्ट, दुईजनाले दिए राजीनामा

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेर हद लागू गर्ने सरकारको तयारी भइरहेका बेला नेपाल सरकारका दुईजना सचिवले राजीनामा दिएका छन् ।
राजीनामा दिनेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम अधिकारी र सञ्चार मन्त्रालयका सचिव डा. कमलप्रसाद पोखरेल रहेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दुवैको राजीनामा स्वीकृत गरेको छ ।
सरकारले निजामती कर्मचारीको ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेर हद लागू गर्ने तयारी गरेको छ । नयाँ व्यवस्था लागू हुँदा लामो समय सेवा गरिसकेका कर्मचारीको निवृत्तिभरणलगायतका सुविधामा असर पर्न सक्ने भएकाले उनीहरूले सरकारको कामप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् ।
अधिकारी केही दिनमै अवकाशमा जाने तयारीमा थिए भने पोखरेलको कार्यकाल अझै करिब एक वर्ष बाँकी थियो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले नयाँ व्यवस्थाका लागि सहमति दिएपछि दुई सचिवले राजीनामा दिएका हुन् । कार्यकाल बाँकी रहँदै सचिवस्तरबाटै राजीनामा आएपछि सरकारको प्रस्तावित व्यवस्थाप्रति कर्मचारी तहमा असन्तुष्टि रहेको देखिएको छ ।











