आवश्यकता बिनै सिंहदरवार वरपर फुटपाथ भत्काएर पुनर्निर्माण, सर्वसाधारणलाई सास्ती

२७ श्रावण २०८३, बुधबार १४:१७

काठमाडौं । सिंहदरबार आसपासको सडकमा रहेको फुटपाथ भत्काएर नयाँ निर्माणको काम भइरहेको छ। पुरानो फुटपाथ तत्कालै पुनर्निर्माण गर्नुपर्ने गरी बिग्रिएको अवस्था नभए तापनि अझ राम्रो बनाउने भन्दै भत्काएर नयाँ निर्माण थालिएपछि सार्वजनिक रकमको खर्च र कामको आवश्यकतामाथि प्रश्न उठेको हो।

फुटपाथ भत्काएर निर्माण सामग्री राखी काम अघि बढाइँदा पैदलयात्रुलाई सडकबाट हिँड्नुपर्ने बाध्यता आइपरेको छ। व्यस्त सडकमा पैदलयात्रु सडकतर्फ आउँदा दुर्घटनाको जोखिम बढ्नुका साथै सवारी आवागमनमा समेत असर परेको छ। निर्माणका कारण कतिपय समयमा सडक साँघुरिँदा ट्राफिक जामको समस्या समेत थपिने गरेको छ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार उक्त काम गत आर्थिक वर्षमै ठेक्का लगाइएको हो। आर्थिक वर्ष सकिँदासमेत काम सम्पन्न नभएपछि तीन महिनाको म्याद थप गरेर निर्माण अघि बढाइएको उनले बताए। उनका अनुसार अहिले काम अन्तिम चरणमा पुगेको छ र नियमित अनुगमन भइरहेको छ।

तर पुरानो फुटपाथ सामान्य अवस्थामा हुँदाहुँदै त्यसलाई भत्काएर नयाँ बनाउनुपर्ने आवश्यकता के थियो भन्ने प्रश्न भने कायमै छ। सार्वजनिक रकम खर्च हुने विकास निर्माणका काममा आवश्यकता र औचित्य उत्तिकै महत्वपूर्ण हुन्छ तर महानगरले भने राम्रो बनाउने भन्दै आवश्यकता र औचित्य बिनै फुटपाथ भत्काएन पुनर्निर्माण गरिरहेको हो। मर्मत वा सामान्य सुधारबाटै सञ्चालन गर्न सकिने संरचना भत्काएर पुनर्निर्माण गर्दा राज्यको स्रोत अनावश्यक रूपमा खर्च भइरहेको देखिन्छ।

विशेषगरी कार्यालय समयमा सिंहदरबार आसपासको सडकमा पैदलयात्रु तथा सवारीसाधनको चाप बढी हुने भएकाले निर्माणाधीन फुटपाथका कारण सर्वसाधारणले थप असहजता व्यहोर्नुपरेको छ। फुटपाथमै हिँड्न नपाउने भएपछि सडकबाट जोखिम मोलेर हिँड्नुपर्ने अवस्था सिर्जना भएको छ यसबाट खासगरी बच्चाबच्ची र जेष्ठ नागरिक दुर्घटनाको जोखिममा परेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*