घन्टी सरकारको समृद्धि, नागरिकले पासविना प्रवेश नपाउने सिंहदरबारभित्र सहुलियत पसल

काठमाडौं । सरकारले आम उपभोक्तालाई सुलभ मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने भन्दै सिंहदरबारभित्रै सहुलियत मूल्यको खाद्य बिक्री कक्ष सञ्चालनमा ल्याएको छ । तर नागरिकले सहज प्रवेश नै नपाउने सिंहदरबारभित्र खोलिएको पसलले कति आम उपभोक्तालाई राहत देला भन्ने प्रश्न उठेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो वार्षिकोत्सवको अवसरमा उद्योग मन्त्रालय र गृह मन्त्रालयको बीचमा बिक्री कक्ष सञ्चालनमा ल्याएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले यसको उद्घाटन गरेकी छन् ।
बिक्री कक्षमा करिब १२४ प्रकारका खाद्य तथा दैनिक उपभोग्य सामग्री राखिएको कम्पनीले जनाएको छ । उपभोक्ताले ती सामग्री सुलभ मूल्यमा खरिद गर्न सक्ने बताइएको छ ।
तर सिंहदरबार प्रवेशका लागि पास वा अनुमति आवश्यक पर्ने भएकाले आम नागरिकका लागि यो सहुलियत पसलको पहुँच भने नपाउने देखिन्छ । बाहिरका उपभोक्ता महँगीको मारमा परिरहेका बेला उनीहरूको सहज पहुँचभन्दा बाहिर सिंहदरबारभित्र सहुलियत पसल खोल्नुले सरकारको राहत कार्यक्रमको लक्षित वर्गमै प्रश्न उठाएको छ ।
सरकारले नागरिकलाई सहुलियत दिने हो भने त्यस्तो सुविधा सर्वसाधारणको सहज पहुँच हुने स्थानमा विस्तार गर्नुपर्ने देखिन्छ । तर आम नागरिक पास बिना र सहजै जानै नपाउने सिंहदरबारभित्र सहुलियत पसल खोल्दा आम नागरिकले त्यसको पहुँच नपाउने देखिएको हो ।











