किशोर श्रेष्ठलाई बरामद सामग्रीसहित सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश

२९ श्रावण २०८३, शुक्रबार ११:४१

काठमाडौं । आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले श्रेष्ठलाई बरामद गरिएका सञ्चारसामग्रीसहित सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको इजलासले श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै उक्त आदेश दिएको हो । रिटमा श्रेष्ठलाई कुनै आधार र कारणबिना पक्राउ गरिएको भन्दै तत्काल थुनामुक्त गर्न माग गरिएको थियो ।

श्रेष्ठलाई गत शनिबार राति उनको निवासबाट प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि जिल्ला अदालत काठमाडौंले आइतबार उनलाई तीन दिनको म्याद थप गरेको थियो ।

प्रहरीले श्रेष्ठ पक्राउ परेकै राति उनको घरमा पुनः खानतलासी गरेको थियो । खानतलासीका क्रममा प्रहरीले घरमा जडान गरिएको सिसिटिभीको रेकर्डरसमेत नियन्त्रणमा लिएको छ । यसअघि घरबाट बालबालिकाले प्रयोग गर्ने ल्यापटप र मोबाइलसमेत प्रहरीले लगेको बताइएको छ ।

यस्तै, श्रेष्ठको कार्यालयबाट प्रहरीले छ थान कम्प्युटरको सिपीयु, एउटा मनिटर र एउटा मोबाइल नियन्त्रणमा लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*