अब पोस्टपेड सिम नामसारीका लागि विवरण अनलाइनबाटै भर्न सकिने

काठमाडौं । नेपाल टेलिकमले जीएसएम पोस्टपेड मोबाइलको सिमकार्ड नामसारी प्रक्रियालाई सहज बनाउँदै आवश्यक विवरण अनलाइनबाटै भर्न सकिने व्यवस्था लागू गरेको छ ।
नयाँ व्यवस्थाअनुसार आफ्नो नाममा रहेको पोस्टपेड सिम अर्को व्यक्तिको नाममा नामसारी गर्न चाहने ग्राहकले नेपाल टेलिकमको कस्टमर लगइन पोर्टलमार्फत आवश्यक विवरण भर्न सक्नेछन् । त्यसका लागि सुरुमा मोबाइल नम्बर राखेपछि प्राप्त हुने ओटीपीमार्फत प्रक्रिया अघि बढाउनुपर्नेछ ।
अनलाइन फाराममा हालका ग्राहक र नामसारी गरिने नयाँ ग्राहकको व्यक्तिगत विवरण उल्लेख गर्नुपर्नेछ । साथै, पछिल्लो एक महिनामा उक्त सिमबाट कल गरिएका पाँचवटा मोबाइल नम्बरको विवरणसमेत उपलब्ध गराउनुपर्ने नेपाल टेलिकमले जनाएको छ ।
अनलाइनबाट सबै विवरण भरेपछि भने अन्तिम प्रमाणीकरणका लागि नजिकको नेपाल टेलिकम कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्नेछ । नामसारी दस्तुर बुझाएर सक्कल नागरिकतासहित ग्राहक स्वयं वा उनका प्रतिनिधिमार्फत अन्तिम प्रमाणीकरण गर्न सकिने व्यवस्था गरिएको छ ।
कार्यालयमा स्वयं उपस्थित हुन नसक्ने सेवाग्राहीले प्रतिनिधिमार्फत अन्तिम प्रमाणीकरण गर्न सक्ने भएकाले नामसारी प्रक्रिया थप सहज हुने टेलिकमको अपेक्षा छ ।
हाल यो सुविधा व्यक्तिगत ग्राहकका लागि मात्र उपलब्ध हुनेछ । कर्पोरेट ग्राहकले भने सिम नामसारीका लागि सम्बन्धित कार्यालयमै उपस्थित हुनुपर्नेछ ।











