श्रम मन्त्रालयसँग सहमतिपछि म्यानपावरहरूको आन्दोलन फिर्ता

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले साउन २२ गतेदेखि वैदेशिक रोजगार क्षेत्रका विभिन्न विषयलाई लिएर सञ्चालन गर्दै आएको आन्दोलन तथा दबाबमूलक कार्यक्रम अन्त्य गर्ने भएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज भएको छलफलपछि संघले आन्दोलनका कार्यक्रम फिर्ता लिने निर्णय गरेको हो। मन्त्रालयका मन्त्री तथा सचिवको सहभागितामा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष, सल्लाहकारसहितका पदाधिकारीसँग छलफल भएको मन्त्रालयले जनाएको छ।
छलफलमा संघले उठाएका विभिन्न १५ बुँदे मागका सम्बन्धमा विस्तृत छलफल भएको थियो। संघले राखेका अधिकांश माग नीतिगत सम्बोधनसँग सम्बन्धित रहेको भन्दै ती मागलाई वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनको प्रक्रियामा समावेश गरिने मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार वैदेशिक रोजगार क्षेत्रलाई थप पारदर्शी, सुरक्षित र मर्यादित बनाउन ऐन तथा नियमावली संशोधन प्रक्रिया अघि बढाइनेछ। साथै समग्र मागका सम्बन्धमा कानुनबमोजिम व्यवसायीहरूले थप प्रमाण तथा कागजातसहित वैदेशिक रोजगार विभागमा आफ्ना विषयवस्तु राखी अनुरोध गर्न सक्ने व्यवस्था रहेको जानकारी गराइएको छ।
विभागबाट आवश्यक प्रशासनिक सहजीकरण गर्दा पनि समस्या समाधान नभएमा रीतपूर्वक मन्त्रालयमा पुनरावेदन दिन सकिने प्रावधान रहेको मन्त्रालयले जनाएको छ। सोहीबमोजिम प्रक्रिया अघि बढाउने गरी छलफल सम्पन्न भएको हो।
छलफलपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफूहरूले सञ्चालन गरेका सम्पूर्ण दबाबमूलक कार्यक्रम आजकै मितिदेखि अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। मन्त्रालयका सहसचिव तथा प्रवक्ता पिताम्बर घिमिरेका अनुसार छलफलबाट संघका माग सम्बोधनका लागि आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको छ।












