उत्पादन-प्रशोधनका १५ कम्पनीले कमाए ५ अर्ब ८३ करोड, घोराही सिमेन्टसहित ३ कम्पनी अझै घाटामा

काठमाडौँ । उत्पादन तथा प्रशोधन समूहमा रहेका कम्पनीले झण्डै ६ अर्ब रुपैयाँ नाफा कमाएका छन् । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२।०८३ मा १५ कम्पनीले ५ अर्ब ८३ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।
कम्पनीले आर्जन गरेको नाफा अघिल्लो आर्थिक वर्ष २०८१।०८२ को तुलनामा ३९ प्रतिशतले कम हो । अघिल्लो वर्ष यी कम्पनीले ४ अर्ब १९ करोड ४७ लाख रुपैयाँ नाफा कमाएका थिए ।
उत्पादन तथा प्रशोधन समूहमा रहेका १५ कम्पनीमध्ये १२ कम्पनी नाफामा छन् भने तीन कम्पनी अझै घाटामा रहेका छन्। समग्र समूहको नाफा उल्लेख्य रूपमा बढे पनि केही कम्पनीको आम्दानी र नाफामा भने ठूलो गिरावट देखिएको छ। विशेषगरी युनिलिभर नेपाल र सर्वोत्तम सिमेन्टले अघिल्लो वर्षको तुलनामा नाफा घटाएका छन् भने पाल्पा सिमेन्टको नाफामा सबैभन्दा ठूलो प्रतिशत गिरावट देखिएको छ। अर्कोतर्फ हिमालयन डिस्टिलरी, सर्वोत्तम सिमेन्ट, बोटलर्स नेपाल, सोनापुर मिनरल्स एन्ड आयललगायतका कम्पनीले उल्लेख्य नाफा कमाएका छन्।
समूहगत रूपमा हेर्दा सबैभन्दा बढी नाफा कमाउने कम्पनी युनिलिभर नेपाल रहेको छ। कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ५७ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ। यद्यपि यो नाफा अघिल्लो आर्थिक वर्षको १ अर्ब ९२ करोड ७६ लाख रुपैयाँको तुलनामा १८ दशमलव १९ प्रतिशत कम हो। नाफा घटे पनि युनिलिभर नेपालको प्रतिशेयर आम्दानी ४२४ रुपैयाँ रहेको छ जुन समूहका सबै कम्पनीमध्ये उच्च हो।
नाफाका आधारमा दोस्रो स्थानमा रहेको हिमालयन डिस्टिलरीले गत आर्थिक वर्षमा १ अर्ब २० करोड ६३ लाख ३७ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ९४ करोड १४ लाख ४६ हजार रुपैयाँ थियो। यस आधारमा हिमालयन डिस्टिलरीको नाफा २८ दशमलव १४ प्रतिशतले बढेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ७१ पैसा रहेको छ। समूहमा नाफा वृद्धि गर्ने प्रमुख कम्पनीमध्ये हिमालयन डिस्टिलरी पनि परेको छ।

सर्वोत्तम सिमेन्टले गत आर्थिक वर्षमा १ अर्ब १० करोड ७४ लाख २९ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा १ अर्ब २ करोड ८२ लाख ४४ हजार रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ७ दशमलव ७० प्रतिशतले बढेको हो। सर्वोत्तम सिमेन्टको प्रतिशेयर आम्दानी २१ रुपैयाँ २० पैसा रहेको छ।
शिवम् सिमेन्टले गत आर्थिक वर्षमा ७८ करोड ४४ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ७९ करोड ८१ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको थियो। यस वर्ष कम्पनीको नाफा १ दशमलव ७२ प्रतिशतले घटेको छ। नाफामा सामान्य कमी आए पनि कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ३ पैसा रहेको छ।
बोटलर्स नेपाल (तराई) लिमिटेडले गत आर्थिक वर्षमा ६५ करोड ९२ लाख ८१ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा भने कम्पनी ६१ करोड ३९ लाख ३८ हजार रुपैयाँ घाटामा रहेको थियो। घाटाबाट नाफामा फर्किएको बोटलर्स नेपालको वित्तीय सुधार उल्लेख्य देखिएको छ। कम्पनीको प्रतिशेयर आम्दानी ५४५ रुपैयाँ रहेको छ जुन युनिलिभर नेपालको भन्दा पनि उच्च हो।
रिलायन्स स्पिनिङ मिल्सले गत आर्थिक वर्षमा ३९ करोड ९० लाख २९ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ४७ करोड ५८ लाख ११ हजार रुपैयाँ नाफा कमाएको थियो। यस वर्ष कम्पनीको नाफा १६ दशमलव १४ प्रतिशतले घटेको छ। कम्पनीको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ४ पैसा रहेको छ।
सोनापुर मिनरल्स एन्ड आयलले भने नाफामा असाधारण वृद्धि गरेको छ। कम्पनीले गत आर्थिक वर्षमा ३३ करोड ७१ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ४ करोड ७२ लाख ५० हजार रुपैयाँ मात्र थियो। एक वर्षमै नाफा ६१३ दशमलव ५४ प्रतिशतले बढेको हो। कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ९६ पैसा रहेको छ।
एसवाई प्यानल नेपालले गत आर्थिक वर्षमा ६ करोड ७५ लाख १६ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ६ करोड ६७ लाख ९४ हजार रुपैयाँ नाफा कमाएको थियो। कम्पनीको नाफा १ दशमलव ०८ प्रतिशतले बढेको छ।
पाल्पा सिमेन्टको नाफामा भने ठूलो गिरावट आएको छ। कम्पनीले गत आर्थिक वर्षमा ३ करोड ९९ लाख ९२ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा ९ करोड ७५ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको कम्पनीको नाफा यस वर्ष ५९ प्रतिशतले घटेको हो। कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ २३ पैसा रहेको छ।
एभरेस्ट कलरले गत आर्थिक वर्षमा २ करोड २१ लाख ३० हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा २ करोड १२ लाख १६ हजार रुपैयाँ नाफा कमाएको कम्पनीको नाफा ४ दशमलव ३१ प्रतिशतले बढेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३८ पैसा रहेको छ।
सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजले गत आर्थिक वर्षमा १ करोड ७१ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा १ करोड ९३ लाख ४१ हजार रुपैयाँ थियो। यस वर्ष नाफा ११ दशमलव ३२ प्रतिशतले घटेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ६० पैसा रहेको छ।
श्रीनगर एग्रिटेक इन्डस्ट्रिजले गत आर्थिक वर्षमा १ करोड ६२ लाख १२ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा १ करोड ५८ लाख ९६ हजार रुपैयाँ थियो। कम्पनीको नाफा १ दशमलव ९९ प्रतिशतले बढेको छ। प्रतिशेयर आम्दानी १ रुपैयाँ ३३ पैसा रहेको छ।
समूहका तीन कम्पनी भने अझै घाटामा रहेका छन्। ओम मेगाश्री फर्मास्युटिकल्सले गत आर्थिक वर्षमा ३ करोड ७७ लाख ५७ हजार रुपैयाँ घाटा बेहोरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको घाटा ४ करोड ९ लाख ६९ हजार रुपैयाँ थियो। घाटा केही घटे पनि कम्पनीको प्रतिशेयर आम्दानी ऋणात्मक ६ रुपैयाँ २९ पैसा रहेको छ।

सागर डिस्टिलरीले गत आर्थिक वर्षमा ५ करोड ७२ लाख ६९ हजार रुपैयाँ घाटा बेहोरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको घाटा ३ करोड ५३ लाख ५७ हजार रुपैयाँ थियो। यस वर्ष घाटा थप बढेको देखिन्छ। कम्पनीको प्रतिशेयर आम्दानी ऋणात्मक ७ रुपैयाँ ८९ पैसा रहेको छ।
घोराही सिमेन्ट पनि घाटामा रहेको छ। कम्पनीले गत आर्थिक वर्षमा ३० करोड ८० लाख ७२ हजार रुपैयाँ घाटा बेहोरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको घाटा ५५ करोड ४३ लाख ६४ हजार रुपैयाँ थियो। यस हिसाबले घाटाको आकार उल्लेख्य रूपमा घटेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ऋणात्मक ६ रुपैयाँ १३ पैसा रहेको छ।











