भदौ ९ देखि भृकुटीमण्डपमा अटोमोबाइलको महाकुम्भ, रोबोटदेखि नयाँ पुस्ताका सवारीसम्म

१ भाद्र २०८३, सोमबार १८:१९

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो स्थापनाको ५०औँ वर्षलाई विशेष बनाउँदै १८औँ संस्करणको नाडा अटो शो २०२६ आयोजना गर्ने भएको छ। भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने यस वर्षको अटो शोमा नेपाली उत्पादन, नयाँ पुस्ताका सवारीसाधन, अत्याधुनिक प्रविधि र रोबोट विशेष आकर्षणका रूपमा रहने भएका छन्।

नाडाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै अटो शोको तयारी, सहभागी ब्रान्ड, प्रदर्शनीका आकर्षण तथा आगन्तुकका लागि गरिएका व्यवस्थाबारे जानकारी दिएको हो। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नाडाको ५० वर्षे यात्रासँगै नेपालको अटोमोबाइल क्षेत्र पनि आर्थिक तथा औद्योगिक विकासको महत्वपूर्ण हिस्सा बन्दै गएको बताए।

उनका अनुसार यस वर्षको अटो शो सवारीसाधन किनबेच र प्रदर्शनमा मात्र सीमित हुने छैन। नेपालको अटोमोबाइल क्षेत्रमा पछिल्लो समय देखिएको परिवर्तन, प्रविधिको विकास र आगामी सम्भावनालाई एउटै मञ्चबाट प्रस्तुत गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको हो।

नाडा अटो शो समितिका सभापति अनूपकुमार बरालका अनुसार यस वर्षको प्रदर्शनीलाई नाडाको स्वर्ण उत्सव संस्करणका रूपमा विशेष बनाइएको छ। करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा साना–ठूला गरी दुई सयभन्दा बढी स्टल रहनेछन्।

प्रदर्शनीमा २३ वटा ब्रान्डका यात्रुवाहक कार, १७ वटा ब्रान्डका हलुका व्यावसायिक सवारीसाधन तथा ३० वटा ब्रान्डका दुईपाङ्ग्रे सवारीसाधन सहभागी हुनेछन्। त्यस्तै, १० वटा वित्तीय तथा बीमा कम्पनीका साथै पार्टपुर्जा, टायर, ब्याट्री, लुब्रिकेन्ट्स, सहायक सामग्री, ग्यारेज उपकरण तथा अटोमोबाइलसँग सम्बन्धित विभिन्न उत्पादनका लागि करिब ७० वटा स्टल रहनेछन्।

यस वर्षको नाडा अटो शोमा नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिइएको छ। ‘नेपालमा बनेका तथा नेपालका लागि बनेका’ सामग्रीका लागि छुट्टै कक्ष निर्माण गरिनेछ। स्वदेशमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधन, लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेट तथा अन्य अटोमोबाइल सामग्रीलाई उक्त कक्षमार्फत प्रवद्र्धन गरिनेछ। यसले नेपाली उद्योगले उत्पादन क्षमता र प्रविधिको क्षेत्रमा हासिल गरेको प्रगतिलाई समेत दर्शाउने अपेक्षा गरिएको छ।

अटो शोको अर्को विशेष आकर्षण अत्याधुनिक रोबोट हुनेछन्। प्रदर्शनीमा जी१ मानवरूपी रोबोट तथा गो२ चतुष्पाद रोबोट प्रदर्शन गरिने नाडाले जनाएको छ। मानवजस्तै हिँडडुल गर्न सक्ने मानवरूपी रोबोटदेखि चार खुट्टे रोबोटसम्मलाई एउटै मञ्चमा देख्न पाउने अवसरले दर्शकलाई भविष्यको प्रविधिसँग प्रत्यक्ष साक्षात्कार गराउनेछ। यी रोबोटमार्फत अटोमोबाइल तथा भविष्यको यातायात प्रविधिमा भइरहेको तीव्र विकासलाई दर्शकमाझ प्रस्तुत गरिनेछ।

विभिन्न ब्रान्डले नयाँ मोडल सार्वजनिक गर्ने तयारीसमेत गरेका छन्। नयाँ सवारीसाधन, विद्युतीय सवारीसाधन, अत्याधुनिक सुरक्षा प्रणाली, जडान प्रविधि तथा अन्य नवीनतम प्रविधिबारे प्रत्यक्ष जानकारी लिन सकिने भएकाले यस वर्षको अटो शो अटोमोबाइलप्रेमी मात्र नभई प्रविधिमा रुचि राख्ने दर्शकका लागि समेत विशेष हुने आयोजकको विश्वास छ।

शिथिल बनेको अटोमोबाइल बजारलाई पुनः चलायमान बनाउन, नयाँ सवारी प्रविधिको प्रवद्र्धन गर्न तथा विशेषगरी विद्युतीय सवारीसाधनलगायत नवीनतम प्रविधिबारे उपभोक्तालाई जानकारी गराउन अटो शो महत्वपूर्ण हुने नाडाको विश्वास छ। प्रदर्शनीले उत्पादक, वितरक, व्यवसायी, वित्तीय संस्था, उपभोक्ता तथा अटोमोबाइल क्षेत्रसँग जोडिएका विभिन्न पक्षलाई एउटै मञ्चमा जोड्नेछ।

यस वर्षको नाडा अटो शोको शीर्ष प्रायोजन एचपी लुब्रिकेन्ट्सले गरेको छ। दर्शकले टिकटिङ साझेदार खल्ती एपमार्फत अग्रिम टिकट बुकिङ गर्न सक्नेछन्। आयोजकका अनुसार निश्चित अवधिका लागि टिकट खरिदमा ५० प्रतिशतसम्म नगद फिर्ताको व्यवस्था गरिएको छ।

दर्शकको सहजता र पार्किङ व्यवस्थापनलाई ध्यान दिँदै नेपाल पुलिस क्लब तथा राष्ट्रिय व्यापारिक परिसरमा पार्किङको व्यवस्था गरिने भएको छ। पार्किङस्थलबाट भृकुटीमण्डपसम्म दर्शकलाई ल्याउन र लैजान सटल बस सेवा सञ्चालन गरिनेछ। यसले प्रदर्शनी अवधिमा काठमाडौंको व्यस्त सडकमा सवारी चाप व्यवस्थापन गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रदर्शनीस्थलमा सुरक्षाका लागि सीसीटीभी निगरानीको व्यवस्था गरिनेछ। आपत्कालीन स्वास्थ्य टोली, ट्राफिक सूचना डेस्क तथा ह्वीलचेयर सेवाको व्यवस्था पनि गरिनेछ। महानगरीय ट्राफिक प्रहरीसँगको सहकार्यमा ट्राफिकसम्बन्धी सूचना तथा व्यवस्थापनमा सहजीकरण गरिनेछ। प्रदर्शनीस्थललाई अपाङ्गतामैत्री बनाउने तयारीसमेत गरिएको आयोजकले जनाएको छ।

प्रदर्शनीमा स्मार्ट गतिशीलता, सवारी क्षेत्रको दिगो विकास तथा सवारीसाधनमा बढ्दो जडान प्रविधिलगायत विषयमा परिसंवादसमेत आयोजना गरिनेछ। यसले अटो शोमा सवारीसाधनको प्रदर्शनसँगै नेपालको भविष्यको गतिशीलता र अटोमोबाइल उद्योगको दिशाबारे बहसको वातावरणसमेत सिर्जना गर्नेछ।

छ दिनसम्म सञ्चालन हुने नाडा अटो शोमा करिब ७५ हजार दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ। नाडाका अनुसार विगतका संस्करणको अनुभवलाई आधार बनाउँदै यसपटकको प्रदर्शनीलाई थप व्यवस्थित, प्रविधिमैत्री, सुरक्षित र विविधतापूर्ण बनाउने तयारी गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*