५ लाख घुससहित पक्राउ परेका कर अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा, सीए यादवपनि फन्दामा

२ भाद्र २०८३, मंगलवार १६:५५

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज एम.एस. पाल र चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवविरुद्ध घुस/रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार दुवै जनाविरुद्ध बुधबार आरोपपत्र दायर गरिएको हो।

आयोगका अनुसार आर्थिक वर्ष २०७८/७९ को कर लेखापरीक्षण तथा कर निर्धारणका क्रममा सेवाग्राहीले पेस गरेका कागजात तथा बिल–बिजक नमिलेको भन्दै कर अधिकृत पालले दुःख हैरानी दिएका थिए। काम मिलाइदिने भन्दै रकम माग गरेको सूचनाका आधारमा अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले पाललाई सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा पालले विभिन्न व्यावसायिक तथा औद्योगिक फर्म तथा कम्पनीको लेखापरीक्षण र कर निर्धारणका क्रममा चार्टर्ड एकाउन्टेन्ट यादवमार्फत रकमको बार्गेनिङ गर्ने गरेको खुलेको आयोगले जनाएको छ।

आयोगका अनुसार यादवले सेवाग्राहीसँग रकमको बार्गेनिङ गरी पाललाई ५ लाख रुपैयाँ घुस लिन लगाएका थिए। उनले सेवाग्राहीलाई घुस दिनसमेत दुरुत्साहन गरेको आरोप लगाइएको छ।

आयोगले पालविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको ठहर गर्दै ५ लाख रुपैयाँ बिगो कायम गरेको छ। पाललाई सोही ऐनबमोजिम कैद तथा बिगो बराबर जरिवाना हुन मागदाबी गरिएको छ।

यस्तै, यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (४) बमोजिमको कसुर गरेको आरोप लगाइएको छ। उनीविरुद्ध पनि ५ लाख रुपैयाँ बिगो कायम गरी कैद तथा बिगो बराबर जरिवाना हुन मागदाबी गरिएको आयोगले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*