अब कर्मचारीको तलब १५–१५ दिनमा, अर्धमासिक भुक्तानीको बाटो खुल्यो

काठमाडौं । सङ्घीय सरकारअन्तर्गत कार्यरत राष्ट्रसेवक कर्मचारीले अब हरेक १५ दिनमा तलबभत्ता पाउने भएका छन् । महालेखा नियन्त्रक कार्यालयले कर्मचारीलाई अर्धमासिक रूपमा तलबभत्ता उपलब्ध गराउन सम्बन्धित निकायलाई पत्राचार गरेको हो ।
महालेखा नियन्त्रक कार्यालयले सोमबार कोष तथा लेखा नियन्त्रक कार्यालय, सबै निवृत्तभरण व्यवस्थापन कार्यालय तथा कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्र पठाउँदै सङ्घीय सरकारअन्तर्गतका निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई १५ दिन काम गरेपछि अर्धमासिक रूपमा तलबभत्ता भुक्तानी गर्न निर्देशन दिएको छ ।
अर्थमन्त्रीस्तरबाट २०८३ वैशाख ४ गते जारी भएको नीतिगत मार्गदर्शनअनुसार कर्मचारीलाई १५ दिन काम गरेपछि तलबभत्ता उपलब्ध गराउन अनुरोध गरिएको कार्यालयले जनाएको छ ।
यसैगरी, आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा व्यवस्था गरिएको कर्मचारी प्रोत्साहन भत्तासमेत नियमानुसार भुक्तानी गर्न महालेखा नियन्त्रक कार्यालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालयको कार्यक्षेत्रभित्र पर्ने सङ्घीय सरकारी निकायबाट उल्लिखित व्यवस्थाअनुसार तलबभत्ता तथा प्रोत्साहन भत्ताको भुक्तानीका लागि निकासा माग भई आएमा सोहीअनुसार निकासा तथा भुक्तानीको व्यवस्था मिलाउनसमेत पत्राचार गरिएको छ ।











