उपभोक्ता ठगीमा विभागको एक्सन, दुई फर्मलाई पाँच लाख जरिवाना

२ भाद्र २०८३, मंगलवार १८:४२

काठमाडौँ । उपभोक्ता ठगी तथा नियमविपरीत सञ्चालनमा रहेका व्यावसायिक फर्ममाथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही तीव्र बनाएको छ । विभागले मंगलबार गरेको बजार अनुगमनका क्रममा काठमाडौँका दुई व्यावसायिक फर्मलाई कुल पाँच लाख रुपैयाँ जरिवाना गरेको हो ।

विभागका अनुसार काठमाडौँ महानगरपालिका–३२, कोटेश्वरस्थित न्यु फेमिली गर्ल्स होस्टेललाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ । विद्यार्थी भर्नाका क्रममा प्यान बिल जारी नगरेको र विद्यार्थीलाई अस्वस्थकर खाना खुवाएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरिएको विभागले जनाएको छ ।

त्यस्तै, तोकिएको मूल्यभन्दा बढीमा सामान बिक्री गरेको पाइएपछि काठमाडौँको महाराजगञ्जस्थित ओलीज स्टोर प्रालिलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।

अनुगमनका क्रममा कैफियत देखिएका अन्य तीन व्यवसायलाई आवश्यक सम्पूर्ण कागजातसहित तीन दिनभित्र विभागको बबरमहलस्थित कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ । ललितपुरको पुल्चोकस्थित खाना डट कमलाई व्यवसाय दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, प्रयोग भइरहेको क्यूआर कोडको बैंक स्टेटमेन्ट तथा खरिद–बिक्रीका कागजातसहित उपस्थित हुन भनिएको छ ।

त्यसैगरी, कीर्तिपुरस्थित क्षितिज मेडिकल स्टोरलाई बिक्री गरिएका औषधिको मूल्य प्रमाणित गर्ने नमुना औषधि र बिलसहित उपस्थित हुन निर्देशन दिइएको छ । बुढानीलकण्ठस्थित विश्राम रेस्टुरेन्ट एण्ड बारलाई ग्यास डिलरको प्रमाणपत्र, खरिद–बिक्री बिल तथा वितरणको विवरणसहित विभागमा उपस्थित हुन भनिएको छ ।

विभागको टोलीले अनुगमनका क्रममा अन्य व्यवसायलाई सुधारका लागि आवश्यक निर्देशनसमेत दिएको छ । काठमाडौँको वाटिका ट्रेडर्सलाई अनिवार्य रूपमा बिलबिजक जारी गर्न तथा ललितपुरको संगिज एपरल स्टुडियोलाई खरिद–बिक्री बिल र एमआरपी लेबल व्यवस्थित गर्न निर्देशन दिइएको छ ।

त्यस्तै, भक्तपुरको गठ्ठाघरस्थित न्यू रिस्सा स्विट्सलाई खाद्य स्वच्छता तथा गुणस्तर मापदण्ड पालना गर्न, गाम्चाको गायत्री स्पाइसेस एण्ड फुडलाई नियमित बिल जारी गर्न तथा दधिकोटको गढीमाई तेल मिललाई लेबलसहितको एमआरपी स्टिकर भएको मालसामान मात्र बिक्री गर्न र मूल्यसूची व्यवस्थित गर्न सचेत गराइएको विभागले जनाएको छ ।

यसैबीच, बजार अनुगमनका क्रममा ग्यासको सहज बिक्री–वितरण गरिरहेको भन्दै विभागले काठमाडौँ चक्रपथस्थित सीता ग्यास स्टोरलाई धन्यवाद दिँदै आगामी दिनमा पनि उक्त कार्यलाई निरन्तरता दिन आग्रह गरेको छ । मध्यपुर थिमीस्थित भट्ट सप्लायर्सलाई भने ग्यासको सहज आपूर्ति व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*