धौवादी फलाम खानीमा उत्खननको तयारी, ९ करोड ६० लाख धाउ निकाल्ने योजना

४ भाद्र २०८३, बिहीबार ११:२९

काठमाडौँ । नवलपरासीको हुप्सेकोट गाउँपालिका–५ धौवादीमा रहेको फलाम खानीबाट व्यावसायिक रूपमा फलाम उत्खनन गर्ने तयारी अघि बढेको छ । धौवादी फलाम कम्पनी लिमिटेडले करिब ४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको खानीबाट ९ करोड ६० लाख धाउ फलाम उत्खनन गर्न सकिने योजनासहितको प्रतिवेदन खानी तथा भू–गर्भ विभागमा पेस गरेको छ ।

कम्पनीले खानी क्षेत्रलाई धौवादी पोखरी र दुर्लुङ गरी दुई भागमा विभाजन गरेको छ । धौवादी पोखरी ब्लक करिब २५ वर्ग किलोमिटर र दुर्लुङ ब्लक १६ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । प्रस्तावित योजना स्वीकृत भएपछि फलामको वास्तविक भण्डारको अवस्था पहिचान गर्न थप अनुसन्धान र उत्खननको काम अघि बढाउने कम्पनीको तयारी छ ।

नेपालमै फलामको व्यावसायिक उत्पादन गर्ने लक्ष्यसहित स्थापना भएको कम्पनीले भूमिगत फलामको नमुना संकलन तथा परीक्षणका लागि विभिन्न १२ स्थानमा ड्रिलिङ गरिसकेको जनाएको छ । कम्पनीका निर्देशक शैलेशकुमार थापाका अनुसार ती स्थानमा गरी करिब एक हजार ५०० मिटर ड्रिलिङ सम्पन्न भएको छ ।

कम्पनीले खानी सञ्चालनका लागि आवश्यक वातावरणीय प्रभाव मूल्याङ्कनको काम अघि बढाइरहेको छ भने विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने प्रक्रिया पनि चाँडै सुरु गर्ने जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*