सांसद र मन्त्रीहरूको चर्काे दमन सहन नसकेपछि उच्च तहका कर्मचारीले नै दिन थाले राजीनामा

काठमाडौं । निजामती सेवाका उच्च तहमा कार्यरत कर्मचारीले सेवा अवधि बाँकी छँदै राजीनामा दिने क्रम बढेको छ । जिम्मेवारीविहीन अवस्था, सांसद र मन्त्रीहरूको राजनीतिक दबाब र काम गर्ने वातावरणप्रति असन्तुष्टिका कारण उच्च तहका कर्मचारीले राजीनामा दिंदै सेवाबाट अलग हुन थालेका हुन् ।
साउनको अन्तिम साता सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा. कमलप्रसाद पोखरेलले हाजिर भएको दुई दिनमै असहज महसुस गर्दै राजीनामा दिएका थिए । उनको सेवा अवधि अझै करिब एक वर्ष बाँकी थियो ।
भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव कृष्णबहादुर शाही र चन्द्रबहादुर शिवाकोटीले पनि राजीनामा दिएका छन् । शिवाकोटीको सेवा अवधि करिब दुई महिना बाँकी थियो । त्यस्तै विभिन्न संवेदनशील निकायमा काम गरिसकेका सहसचिव रुद्रप्रसाद लामिछाने पनि लामो समयदेखि जिम्मेवारीविहीन भएपछि अवकाशमा जान करिब डेढ महिना बाँकी रहँदा राजीनामा दिएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा रहेका सहसचिव लेखनाथ ज्ञवालीले पनि सेवा अवधि बाँकी छँदै राजीनामा दिएका छन् । गत माघमा सहसचिवमा बढुवा भएका ज्ञवाली असोज २७ गते अनिवार्य अवकाशमा जाने सूचीमा थिए । उता झापाको अर्जुनधारा नगरपालिकामा कार्यरत उपसचिव अनोजकुमार घिमिरेले पनि नियमित सेवा अवधि करिब एक वर्ष बाँकी रहँदै राजीनामा दिएका छन् ।









