२५ रुपैयाँ प्रतिकिलोमिटरको मागमा पठाओको जवाफ–‘सहमति भए भाडा संशोधन गर्छौँ’

काठमाडौँ। राइड सेयरिङ सेवा प्रदायक कम्पनी पठाओ नेपालले राइडरहरूले उठाउँदै आएको उचित भाडादर र प्रतिकिलोमिटर आम्दानीको मागप्रति आफू गम्भीर रहेको जनाएको छ। सरकार, राइडर प्रतिनिधि र डिजिटल प्लेटफर्मबीच सहमति भएर सबैमा समान रूपमा लागू हुने न्यूनतम भाडादर तय भए आफ्नो विद्यमान भाडा संरचना संशोधन गर्न तयार रहेको कम्पनीले स्पष्ट पारेको हो।
पठाओ नेपालका प्रबन्ध निर्देशक यशु थकालीले राइडरले आफ्नो श्रम, समय, लगानी र जोखिमको उचित मूल्य पाउनुपर्ने विषयमा कम्पनी सहमत रहेको बताएका छन्। पछिल्लो समय राइडरहरूले न्यूनतम २५ रुपैयाँ प्रतिकिलोमिटर भाडा कायम गर्नुपर्ने माग गर्दै आएका छन्।
पठाओले आफ्नो वर्तमान भाडा संरचना ठ्याक्कै २५ रुपैयाँ प्रतिकिलोमिटरको ‘फ्ल्याट रेट’ मा आधारित नभए पनि विभिन्न दूरीका सामान्य राइडको समग्र हिसाब गर्दा प्रभावकारी भाडादर औसतमा करिब २५ रुपैयाँ प्रतिकिलोमिटर आसपास पर्ने दाबी गरेको छ।
कम्पनीका अनुसार पठाओको भाडा संरचनामा बेस फेयर, प्रतिकिलोमिटर भाडा र प्रतिमिनेट भाडा समावेश छन्। इन्धनको मूल्य, महँगी, सवारीसाधनको लागत तथा ह्रास, मर्मतसम्भार र सञ्चालन खर्चलगायतका आधारमा भाडा निर्धारण हुँदै आएको कम्पनीको भनाइ छ।
बजारमा मूल्य प्रतिस्पर्धा बढेपछि राइडरको आम्दानी घटाउनुको सट्टा कम्पनीले आफ्नो आम्दानीको हिस्सा घटाएको पनि पठाओले जनाएको छ। बाइक सेवामा रहेको २० प्रतिशतसम्मको कमिसन संरचना परिवर्तन गरी १२ रुपैयाँको निश्चित प्लेटफर्म शुल्क लागू गरिएको र उक्त शुल्क ग्राहकले तिर्ने भाडामै समावेश गरिएको कम्पनीले बताएको छ।
पठाओका अनुसार उक्त प्लेटफर्म शुल्कमा राइडर तथा ग्राहकको सुरक्षासँग सम्बन्धित बीमा शुल्कसमेत समावेश छ। राइडरको हित संरक्षणका लागि कम्पनीले बीमा, दुर्घटना तथा आपत्कालीन अवस्थामा सहयोग गर्ने क्विक रेस्पोन्स टिम, २४ घण्टा कल सेन्टर तथा ‘पठाओ बेनिफिट प्रोग्राम’ सञ्चालन गर्दै आएको जनाएको छ।
बेनिफिट कार्यक्रमअन्तर्गत पेट्रोल खर्चमा सहयोग, निःशुल्क बाइक सर्भिसिङ, मोबाइल डेटा, अस्पताल तथा अन्य सेवामा छुट, छोराछोरीको शिक्षाका लागि वार्षिक सहायता र दुर्घटनाका कारण काम गर्न नसक्दा आम्दानीमा सहयोग गर्ने ‘एक्सिडेन्ट बेड रेस्ट अलाउन्स’ लगायतका सुविधा रहेको कम्पनीले जनाएको छ।
पठाओले राइड सेयरिङ क्षेत्रमा भाडादरसँगै समग्र नियमन आवश्यक रहेकोमा पनि जोड दिएको छ। सरकारले न्यूनतम र अधिकतम भाडादर तोक्नुका साथै बीमा, सुरक्षा मापदण्ड, गुनासो व्यवस्थापन र आपत्कालीन सहायता प्रणालीसमेत सबै प्लेटफर्ममा समान रूपमा लागू गर्नुपर्ने कम्पनीको धारणा छ।
सबै प्लेटफर्ममा समान नियम लागू भए प्रतिस्पर्धा केवल मूल्यमा सीमित नभई सेवा गुणस्तर, सुरक्षा, प्रविधि र विश्वसनीयतामा समेत हुने पठाओको भनाइ छ। “राइडरले सम्मानजनक र दिगो आम्दानी गर्न पाऊन्, ग्राहकले सुरक्षित, भरपर्दो र उचित मूल्यमा सेवा पाऊन् तथा नेपालको राइड सेयरिङ उद्योग स्वस्थ, निष्पक्ष, व्यवस्थित र दिगो बनोस् भन्ने हाम्रो उद्देश्य हो,” प्रबन्ध निर्देशक थकालीले भनेका छन्।









