सम्बन्धविच्छेद प्रमाणपत्र दिन १० हजार घुस, वडा सचिवविरुद्ध मुद्दा

५ भाद्र २०८३, शुक्रबार १७:०२

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको गौरीगञ्ज गाउँपालिका–१ का वडा सचिव अजयकुमार शाहविरुद्ध १० हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने भन्दै शाहले सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिएका थिए। अख्तियारको कार्यालय इटहरीमा परेको उजुरीका आधारमा खटिएको टोलीले शाहलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र कानुनबमोजिम उपलब्ध गराउनुपर्ने जिम्मेवारी हुँदाहुँदै शाहले आफ्नो पद र अधिकारको दुरुपयोग गरी नियतवश ढिलासुस्ती गरेको आयोगले जनाएको छ। दर्ता प्रक्रिया सहजीकरण गरी प्रमाणपत्र उपलब्ध गराइदिने प्रयोजनका लागि उनले सेवाग्राहीसँग घुस मागेर लिएको आयोगको निष्कर्ष छ।

आयोगका अनुसार शाहको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कसुर ठहर भएकाले १० हजार रुपैयाँ बिगो कायम गरी सोही बराबर जरिवाना तथा कैद सजायको मागदाबी गरिएको छ। सोही मागदाबीसहित आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*