स्वरोजगार लघुवित्तले विन नेपाललाई प्राप्ति गर्दै, भदौ २१ देखि एकीकृत कारोबार

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी भदौ २१ गतेदेखि एकीकृत कारोबार सञ्चालन गर्ने भएको छ।
दुवै संस्थाको प्राप्तिसम्बन्धी आवश्यक प्रक्रिया पूरा भई नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृति प्राप्त भइसकेको संस्थाले जनाएको छ।
प्राप्तिपछि विन नेपाल लघुवित्तको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्व स्वरोजगार लघुवित्तले सकार्नेछ। एकीकृत कारोबार भने ‘स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड’ कै नामबाट सञ्चालन हुनेछ।
एकीकृत कारोबार सुरु हुने दिन अर्थात् भदौ २१ गते आइतबार दुवै संस्थाका सम्पूर्ण बैंकिङ सेवा एक दिनका लागि बन्द रहनेछन्। त्यसपछि एकीकृत संस्थामार्फत नियमित रूपमा बैंकिङ सेवा सञ्चालन हुने संस्थाले जानकारी दिएको छ।
प्राप्तिपछि संस्थाको रजिष्टर्ड केन्द्रीय कार्यालय भने साविककै बनेपा नगरपालिका–५, काभ्रेपलाञ्चोक मा रहनेछ। स्वरोजगार लघुवित्त राष्ट्रियस्तरमा कार्यक्षेत्र भएको नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्था हो भने विन नेपाल लघुवित्त बागमती प्रदेशमा कार्यक्षेत्र रहेको ‘घ’ वर्गको लघुवित्त संस्था हो।









