काठमाडौँमा छोराको हत्या, खबर सुनेलगत्तै दाङमा आमाको मृत्यु

काठमाडौँ । काठमाडौँको शंखमुलमा २२ वर्षीय वसन्त कालाखेतीको हत्या भएको खबर सुनेपछि उनकी आमाले दाङमा आत्महत्या गरेकी छन्।
शुक्रबार शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा बस्दै आएका कालाखेतीमाथि दुई जनाले धारिलो हतियार प्रहार गरेका थिए। गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। कालाखेती दाङको घोराही उपमहानगरपालिका–१७ का स्थानीय हुन्।
छोराको हत्या भएको खबर पाएपछि दाङमा रहेकी उनकी ३८ वर्षीया आमा बिना कालाथोकीले घरमै आत्महत्या गरेकी हुन्। जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डा. हेम केसीका अनुसार कालाथोकीलाई सिलिङ फ्यानमा पासो लगाएर झुन्डिएको अवस्थामा फेला पारिएको थियो।
उनको शव पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ। उनका श्रीमान् भने वैदेशिक रोजगारीका क्रममा खाडी मुलुकमा रहेका छन्।
वसन्तको हत्या आरोपमा प्रहरीले बाराको कलैया उपमहानगरपालिका–३ का प्रमित पटेल र शेखर यादवलाई पक्राउ गरेको छ। घटनाबारे प्रहरी वृत्त नयाँ बानेश्वरले थप अनुसन्धान गरिरहेको छ।
प्रहरीका अनुसार वसन्त फ्रान्स जाने तयारीमा काठमाडौँमा बसेर भाषा अध्ययन गरिरहेका थिए।









