निजी क्षेत्रलाई विश्वास नगरे अर्थतन्त्र चल्दैन : अन्जन श्रेष्ठ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रप्रति सरकारको विश्वास कमजोर हुँदा व्यवसायीको आत्मविश्वाससमेत खस्किएको बताएका छन्। निजी क्षेत्रलाई शंकाको दृष्टिले हेर्ने प्रवृत्ति कायम रहेसम्म मुलुकमा औद्योगीकरण र आर्थिक विकासले गति लिन नसक्ने उनको भनाइ छ।
आइतबार इक्यानले आयोजना गरेको ‘नीतिगत संवाद’ कार्यक्रममा बोल्दै श्रेष्ठले अहिले निजी क्षेत्रको मनोबल इतिहासकै न्यून विन्दुमा पुगेको दाबी गरे। राजनीतिक अस्थिरता, प्राकृतिक प्रकोप र आर्थिक उतारचढावका बीच पनि व्यवसायीहरूले निरन्तर व्यवसाय सञ्चालन गर्दै आए पनि पछिल्ला घटनाक्रम र सरकारी अभिव्यक्तिले निजी क्षेत्र तथा युवामा थप त्रास सिर्जना गरेको उनले बताए।
‘समस्या धेरै छन्, तर सबैभन्दा पहिला निजी क्षेत्रलाई विश्वास गर्नुपर्छ। निजी क्षेत्रको आत्मविश्वास बढाउनुपर्छ,’ उनले भने, ‘अहिले व्यवसायीको कन्फिडेन्स इतिहासकै न्यून अवस्थामा छ। त्यसैले सबैभन्दा पहिले ट्रस्ट बिल्डअप गर्नुपर्छ।’
श्रेष्ठले सरकारले उद्योग सञ्चालन गर्न खोज्नु गलत नभए पनि कुनै एउटा उद्योगलाई केन्द्रमा राखेर समग्र औद्योगिक नीति निर्माण गर्न नहुने बताए। हेटौंडा कपडा उद्योग सञ्चालनको विषयमा निजी क्षेत्रले उद्योग बन्द गराउन सक्ने आशंका व्यक्त गरिएको प्रसंग उल्लेख गर्दै उनले यस्तो मानसिकताले औद्योगीकरण सम्भव नहुने टिप्पणी गरे।
‘हेटौंडा कपडा उद्योग चल्यो भने व्यापारीले आँखा लगाउँछन्, बन्द गराउन खोज्छन् भन्ने मानसिकता किन राख्ने ? डर लाग्छ भने झाँक्री लगाएर फुकफाक गरे हुन्छ, नभए खुर्सानी र कागती झुण्ड्याए हुन्छ,’ उनले व्यंग्य गर्दै भने, ‘तर यस्तो सोचबाट देशमा औद्योगीकरण हुँदैन।’
नेतृत्वमा रहेका व्यक्तिहरूले निजी क्षेत्रप्रति अविश्वास पैदा हुने अभिव्यक्ति दिन नहुनेमा पनि उनले जोड दिए। सरकार आफैंले केही उद्योग सञ्चालन गर्न चाहेको अवस्थामा त्यसलाई सकारात्मक रूपमा लिन सकिने भए पनि सरकारी उद्योगसँगै निजी क्षेत्रलाई सक्षम बनाउने स्पष्ट नीति आवश्यक रहेको उनको भनाइ छ।
नेपालमा खपत हुने कपडाको ठूलो हिस्सा स्वदेशमै उत्पादन गर्न सक्ने अवस्था सिर्जना गर्न उद्योगको समग्र इकोसिस्टम निर्माण गर्नुपर्ने श्रेष्ठले बताए। कच्चा पदार्थको उपलब्धता, उत्पादन, बजार, वित्तीय पहुँच, कर नीति र उपभोक्तासम्मको आपूर्ति शृंखलालाई एकीकृत गरेर औद्योगिक वातावरण बनाउनुपर्ने उनको भनाइ छ। एउटा–दुईवटा उद्योग सञ्चालन गरेर मात्रै अर्थतन्त्र बलियो नहुने उनले स्पष्ट पारे।
व्यवसायीहरूले नाफा–घाटा, बजारको जोखिम र विभिन्न चुनौतीबीच पनि आशावादी भएर काम गरिरहेको उल्लेख गर्दै श्रेष्ठले व्यवसायीको मनोबल गिराउने तथा सार्वजनिक रूपमा हुर्मत लिने प्रवृत्तिले लगानीको वातावरण बिगार्ने चेतावनी दिए।
निजी क्षेत्र कमजोर हुँदा लगानी, उत्पादन, रोजगारी र राजस्व संकलनमा समेत प्रत्यक्ष असर पर्ने उनले बताए। त्यसैले सरकार र निजी क्षेत्रबीच विश्वासको सम्बन्ध पुनःस्थापित गर्दै दीर्घकालीन र व्यवसायमैत्री नीतिगत वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए।









