भोलिदेखि भृकुटीमण्डपमा नाडा अटो शो, स्टल निर्माणको काम अन्तिम चरणमा

८ भाद्र २०८३, सोमबार ०७:१३

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्न लागेको ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औं नाडा अटो शो २०२६’ भोलि भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु हुँदैछ। नाडाको ५०औं स्थापना वर्षको अवसरमा आयोजना हुन लागेको यस वर्षको अटो शोलाई स्वर्ण जयन्ती विशेष संस्करणका रूपमा आयोजना गरिँदैछ।

भदौ ९ देखि १४ गतेसम्म सञ्चालन हुने अटो शोको तयारी अहिले अन्तिम चरणमा पुगेको छ। भृकुटीमण्डपमा विभिन्न कम्पनीका स्टल निर्माण, सजावट, विद्युत्, प्रकाश, डिजिटल डिस्प्ले तथा अन्य प्राविधिक व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको छ। प्रदर्शनी शुरु हुन एक दिन मात्र बाँकी रहेकाले भृकुटीमण्डपमा अहिले अटो शोको चहलपहल बढेको छ।

करिब तीन लाख वर्गफिट क्षेत्रमा आयोजना हुने प्रदर्शनीमा दुई सयभन्दा बढी स्टल रहनेछन्। अटो शोमा यात्रुवाहक चारपाङ्ग्रे सवारीका २३, साना तथा मझौला व्यावसायिक सवारीका १७ र दुईपाङ्ग्रे सवारीका १३ ब्रान्ड सहभागी हुँदैछन्। त्यस्तै अटो पाट्र्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, चार्जिङ पूर्वाधार, ग्यारेज उपकरण तथा अन्य सामग्रीसँग सम्बन्धित करिब ७० कम्पनीको सहभागिता रहनेछ। बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका स्टलसमेत प्रदर्शनीमा रहनेछन्।

यसपटकको अटो शोमा विभिन्न नयाँ सवारीसाधनसँगै विद्युतीय सवारीसाधन र नयाँ प्रविधिलाई विशेष रूपमा देखाइने तयारी गरिएको छ। पछिल्लो समय नेपालमा विद्युतीय सवारीको प्रयोग बढिरहेका बेला अटो शोमा ईभी तथा चार्जिङ प्रविधि पनि मुख्य आकर्षण बन्ने अपेक्षा गरिएको छ।

अटो शोमा ‘मेड इन नेपाल र मेड फर नेपाल’ नामको विशेष पभेलियनसमेत रहनेछ। उक्त पभेलियनमा नेपालमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधन, विद्युतीय सवारी, ब्याट्री, हेल्मेट तथा अन्य अटोमोबाइल सामग्री प्रदर्शन गरिनेछ। नाडाका अनुसार अटो शोमा नयाँ सवारीसाधन हेर्न र प्रविधिबारे जानकारी लिनुका साथै उपभोक्ता, व्यवसायी, वितरक, वित्तीय संस्था तथा अटोमोबाइल क्षेत्रका विभिन्न पक्षबीच प्रत्यक्ष भेटघाट र व्यावसायिक छलफलको अवसरसमेत मिल्नेछ।

नाडा सन् १९७५ मा स्थापना भएको हो। पाँच दशकको यात्रापछि आयोजना हुन लागेको यस वर्षको अटो शोले नेपालको अटोमोबाइल क्षेत्रको विकास र पछिल्लो अवस्थालाई समेत प्रस्तुत गर्ने आयोजकको भनाइ छ। नेपालमा हालसम्म करिब ५५ लाख सवारीसाधन दर्ता भइसकेका छन्। पछिल्ला पाँच आर्थिक वर्षमा मात्रै करिब ४७० अर्ब रुपैयाँ बराबरका सवारीसाधन तथा सम्बन्धित सामग्री आयात भएको र त्यसबाट सरकारले करिब ३५१ अर्ब रुपैयाँ भन्सार राजस्व प्राप्त गरेको नाडाले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*