अटोमोबाइल क्षेत्रलाई रोजगारी र आत्मनिर्भरताको आधार बनाउनुपर्छः उपराष्ट्रपति यादव

९ भाद्र २०८३, मंगलवार १०:३७

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्रलाई देशको आर्थिक विकास, रोजगारी सिर्जना र आत्मनिर्भरताको महत्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्ने बताएका छन्।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले स्थापनाको ५०औँ वर्ष पूरा गरेको अवसरमा आयोजना गरेको ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ मा बोल्दै उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्रले पछिल्लो समय नयाँ आयाम हासिल गरिरहेको बताए।

उनले अटोमोबाइल क्षेत्रलाई नेपालमा मात्र सीमित नराखी विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने गरी विकास गर्नुपर्नेमा जोड दिए। राजस्व संकलनका दृष्टिले समेत अटोमोबाइल क्षेत्र महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले यस क्षेत्रको विकासका लागि राज्यले आवश्यक नीतिगत सहयोग गर्नुपर्ने बताए।

उपराष्ट्रपति यादवले विद्युतीय सवारीसाधनको प्रयोग बढाउनु अहिलेको आवश्यकता र बुद्धिमानी भएको बताए। दिगो विकास र वातावरण संरक्षणका लागि विद्युतीय सवारीसाधनको प्रवद्र्धनमा सरकारले समेत सक्रिय भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।

अटोमोबाइल क्षेत्रको विकासले युवालाई स्वदेशमै रोजगारी र आत्मनिर्भरताको अवसर सिर्जना गर्न सक्ने भन्दै उनले उत्पादन, प्रविधि, रोजगारी र उद्यमशीलतालाई जोडेर अघि बढ्नुपर्ने बताए।

उनले अटोमोबाइल क्षेत्रको विकास समाजका सबै तह र वर्गसम्म पुग्नुपर्ने उल्लेख गर्दै यसका लागि सरकार, निजी क्षेत्र, व्यवसायी तथा सरोकारवाला सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए।

नेपाललाई आत्मनिर्भर मुलुकका रूपमा अघि बढाउन स्वदेशमै रोजगारी सिर्जना, प्रविधिको विकास र उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिँदै उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्रको सम्भावनालाई राज्यले प्राथमिकताका साथ उपयोग गर्नुपर्ने बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*