जेको जे फाइभ प्रो नेपालमा सार्वजनिक, मूल्य ४७ लाख ९९ हजार

काठमाडौं । प्रिमियम विद्युतीय एसयूभी जेको जे फाइभको नयाँ भेरियन्ट ‘जे फाइभ प्रो’ नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि ओमोडा एन्ड जेकोको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले नाडा अटो शोमार्फत जे फाइभ प्रोको बिक्री सुरु गरेको हो ।
कम्पनीले नयाँ भेरियन्टको मूल्य ४७ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यो मूल्य पहिलो १०० जना ग्राहकका लागि मात्र लागू हुने जनाएको छ । नियमित जे फाइभको मूल्य भने ५६ लाख ९९ हजार रुपैयाँ रहेको छ । यस हिसाबले जे फाइभ प्रो नियमित मोडलभन्दा ९ लाख रुपैयाँ सस्तो छ ।
कम्पनीका अनुसार कम क्षमताको ब्याट्री प्रयोग गरिएकाले जे फाइभ प्रोको मूल्य घटेको हो । नियमित जे फाइभमा ५८.९ किलोवाट आवरको ब्याट्री रहेकामा नयाँ भेरियन्टमा ५०.७ किलोवाट आवरको ब्याट्री दिइएको छ । यसले एकपटक पूर्ण चार्ज गर्दा ४०५ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ ।
जे फाइभ प्रोमा १५५ किलोवाट क्षमताको अगाडिका पाङ्ग्रामा शक्ति पठाउने मोटर जडान गरिएको छ । उक्त मोटरले अधिकतम २८८ न्यूटन मिटर टर्क उत्पादन गर्छ ।

क्याबिनतर्फ एसयूभीमा ८.८८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १३.२ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली रहेको छ । यसमा पानोरामिक ग्लास रूफ, एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, ५० वाटको वायरलेस मोबाइल चार्जिङ, डुअल जोन क्लाइमेट कन्ट्रोल र अगाडिका सिटमा भेन्टिलेसनको सुविधा दिइएको छ ।
त्यस्तै, जे फाइभ प्रोमा पावर टेलगेट र ३६० डिग्री क्यामेरासहितका सुविधा उपलब्ध छन् । सुरक्षातर्फ ६ वटा एयरब्याग, एबीएस, ईबीडी, ब्रेक असिस्ट र अटो होल्डलगायत सुविधा समावेश गरिएको छ ।
उन्नत चालक सहायता प्रणालीअन्तर्गत फरवार्ड कोलिजन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, एडाप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, लेन किपिङ असिस्ट, ब्लाइन्ड स्पट मोनिटरिङ र रियर क्रस ट्राफिक अलर्ट उपलब्ध छन् ।
एसयूभीमा १८५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स दिइएको छ । यसले विभिन्न सडक तथा भू–बनोटमा सहजता प्रदान गर्ने कम्पनीको दाबी छ । लामो यात्रा तथा नेपाली सडकलाई ध्यानमा राख्दै फुल साइज स्पेयर टायरसमेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
स्वामित्व अनुभवलाई थप सहज बनाउन कम्पनीले जे फाइभ प्रोमा ११ वर्ष वा २ लाख ४० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी उपलब्ध गराएको छ ।









