नेप्सेलाई सेबोनको १९ बुँदे निर्देशन, एआई कारोबार रोक्नेदेखि सर्किट ब्रेकर पुनरावलोकनसम्म

१० भाद्र २०८३, बुधबार ०६:५२

काठमाडौं । नेपालको पूँजी बजारलाई थप व्यवस्थित, पारदर्शी, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यसहित नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई १९ बुँदे निर्देशन दिएको छ। पूँजी बजार विकास मार्गचित्र २०८३ कार्यान्वयन गर्ने क्रममा बोर्डले बजारको कारोबार प्रणाली, लगानीकर्ता सुरक्षा, सूचकांक, सूचना प्रवाह तथा प्रविधिको प्रयोगलगायतका विषयमा सुधारका लागि निर्देशन दिएको हो।

बोर्डले पछिल्लो समय लगानीकर्ताले भोग्दै आएका प्राविधिक समस्या समाधानलाई प्राथमिकतामा राखेको छ। त्यसका लागि कारोबार व्यवस्थापन प्रणाली अर्थात् टीएमएसको अनिवार्य सूचना प्रविधि परीक्षण तथा सुरक्षा परीक्षण गराएर त्यसको प्रतिवेदन बोर्डमा पेश गर्न नेप्सेलाई भनिएको छ। हाल सञ्चालनमा रहेको कारोबार प्रणालीमा देखिएका समस्या पहिचान गरी त्यसलाई थप सुरक्षित, भरपर्दो र प्रभावकारी बनाउनसमेत निर्देशन दिइएको छ।

पछिल्लो समय शेयर बजारमा कृत्रिम बौद्धिकता अर्थात् एआईको प्रयोग बढ्दै गएपछि बोर्डले यस विषयमा छुट्टै अध्ययन गर्ने भएको छ। एआईको प्रयोगसम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास, सम्भावित जोखिम र नेपालको आवश्यकता अध्ययन गरी प्रतिवेदन तयार गर्न भनिएको छ। स्पष्ट कानुनी व्यवस्था र अध्ययन प्रतिवेदन नआएसम्म टीएमएसमार्फत एआईमा आधारित प्रविधिको प्रयोग गरी कारोबार आदेश प्रविष्ट गर्न रोक लगाइएको छ। नयाँ लगानीकर्ता तथा विद्यार्थीलाई शेयर बजारको कारोबार प्रक्रिया बुझ्न सहज होस् भन्ने उद्देश्यले आधिकारिक डेमो ट्रेडिङ प्लेटफर्मलाई निरन्तरता दिन पनि बोर्डले निर्देशन दिएको छ।

लगानीकर्ताको सुविधाका लागि मोबाइल एपमार्फत दोस्रो बजारमा शेयर कारोबार गर्न सकिने व्यवस्था मिलाउन पनि बोर्डले नेप्सेलाई निर्देशन दिएको छ। त्यस्तै आफ्टर मार्केट अर्डर अर्थात् एएमओ प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न भनिएको छ। टीएमएस खाता खोल्दा सी–केवाइसी प्रणालीबाटै आवश्यक विवरण प्राप्त हुने गरी प्रणालीलाई एकीकृत गर्ने तयारीसमेत अघि बढाइने भएको छ।

बोर्डले शेयर बजारको सूचकांक गणना प्रणालीमा समेत सुधार गर्न खोजेको छ। नेप्से सूचकांकलाई अल इक्विटी इन्डेक्सका रूपमा कायम राख्दै फ्री फ्लोट शेयरका आधारमा नयाँ बेन्चमार्क सूचकांक विकास गर्ने प्रक्रिया अघि बढाइने भएको छ। यससँगै बजारमा लागू सर्किट ब्रेकरको व्यवस्थासमेत पुनरावलोकन गरिनेछ। विशेषगरी कारोबारको अन्तिम १५ मिनेटले सूचकांकमा पार्ने प्रभाव र हाल कायम दैनिक १५ प्रतिशतको सर्किट ब्रेकरको व्यवस्था आवश्यक रहे–नरहेको विषयमा अध्ययन गरी एक महिनाभित्र सुझाव पेश गर्न नेप्सेलाई भनिएको छ।

सूचीकृत कम्पनीको वर्गीकरणलाई पनि थप व्यवस्थित बनाउने तयारी गरिएको छ। अब कम्पनीको वित्तीय अवस्था, तरलता, संस्थागत सुशासनलगायतका पक्षलाई आधार बनाएर वर्गीकरण गर्ने व्यवस्था विकास गरिने भएको छ। अन्तर्राष्ट्रिय अभ्यासअनुसार नेप्से ३० र नेप्से हाई क्यापजस्ता थप विविध सूचकांक निर्माणका लागि सम्बन्धित संस्थासँग सहकार्य गर्नसमेत बोर्डले निर्देशन दिएको छ।

यसैगरी हाल सञ्चालनमा रहेको सेन्सेटिभ इन्डेक्सको कानुनी तथा प्रक्रियागत पक्ष पुनरावलोकन गरिने भएको छ। नयाँ कम्पनीको शेयर सूचीकृत भएपछि पहिलो कारोबारका लागि मूल्य निर्धारण गर्ने विधिलाई समेत वैज्ञानिक र अन्तर्राष्ट्रिय अभ्यासअनुसार बनाउन बोर्डले प्रक्रिया अघि बढाउने भएको छ। लामो समयदेखि शेयर कारोबार नभएका सूचीकृत कम्पनीको अवस्थाबारे अध्ययन गरी आवश्यक कानुनी सुधारका लागि सुझाव पेश गर्न पनि भनिएको छ। सूचीकृत कम्पनीले सार्वजनिक गर्ने आधिकारिक सूचना एकै ठाउँबाट प्राप्त गर्न सकिने गरी छुट्टै सूचना पोर्टल विकास गर्ने योजना पनि बोर्डले अघि सारेको छ।

बोर्डले लगानीकर्ता शिक्षा र सचेतनालाई समेत प्राथमिकतामा राखेको छ। त्यसका लागि कम्तीमा महिनामा एकपटक वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको छ। शेयर बजारमा नयाँ तथा साना लगानीकर्ताको सहभागिता बढ्दै गएको अवस्थामा उनीहरूलाई जोखिम, लगानी प्रक्रिया र बजारसम्बन्धी आधारभूत जानकारी उपलब्ध गराउन उक्त निर्देशन दिइएको हो। त्यस्तै शेयर बिक्री गरेपछि लगानीकर्ताले निर्धारित टी प्लस २ अर्थात् दुई कार्यदिनभित्र रकम प्राप्त गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नसमेत बोर्डले कडाइ गरेको छ। लगानीकर्ताले कारोबार पूरा गरेपछि आफ्नो रकम प्राप्त गर्न अनावश्यक ढिलाइ भोग्न नपरोस् भन्ने उद्देश्यले सो निर्देशन दिइएको बोर्डले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*