सिडिएससीलाई बोर्डको निर्देशन, अब इडिआइएसदेखि पैसा पाउनेसम्मको झन्झट घट्ने

१० भाद्र २०८३, बुधबार ०७:१७

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले शेयर लगानीकर्ताले कारोबारका क्रममा भोग्दै आएका विभिन्न समस्या कम गर्न नयाँ सुधारका काम अघि बढाएको छ। बोर्डले सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) लाई शेयर हस्तान्तरण, रकम भुक्तानी र सूचना प्रवाहलाई सहज बनाउने गरी आवश्यक व्यवस्था गर्न निर्देशन दिएको हो।

बोर्डको निर्देशनअनुसार अब शेयर बिक्री गरेपछि लगानीकर्ताले मेरो शेयरमा गएर छुट्टै इडिआइएस गर्नुपर्ने झन्झट हटाउने तयारी गरिएको छ। त्यसका लागि टीएमएस र मेरो शेयरलाई एपिआईमार्फत जोडेर अटो इडिआइएसको व्यवस्था गर्न लागिएको हो।

शेयर बिक्री गरेपछि रकम पाउन ढिलाइ हुने समस्या समाधान गर्न पनि बोर्डले निर्देशन दिएको छ। कारोबार भएको दोस्रो कार्यदिन अर्थात् टी प्लस टुभित्रै लगानीकर्तालाई रकम उपलब्ध गराउने व्यवस्था प्रभावकारी रूपमा लागू गर्न निर्देशन दिइएको छ।

त्यस्तै लगानीकर्तालाई महत्वपूर्ण जानकारी समयमै उपलब्ध गराउन मोबाइलमै सूचना आउने व्यवस्था गर्न पनि सिडिएससीलाई निर्देशन दिइएको छ। आइपिओ, शेयर आवेदन, बोनस तथा हकप्रद शेयर सूचीकरण, लाभांश वितरण र लक–इन अवधिजस्ता जानकारी पुुस नोटिफिकेसनमार्फत मोबाइलमा पठाउने व्यवस्था गर्न लागिएको हो।

बोर्डले टीएमएस र मेरो शेयरमा शेयरको संख्या फरक देखिने समस्या समाधानका लागि पनि प्रणाली सुधार गर्न भनेको छ। अब टीएमएसमा देखिने शेयर विवरण र मेरो शेयरमा रहेको वास्तविक शेयर विवरण स्वचालित रूपमा मिलान हुने व्यवस्था गरिनेछ। कम्पनीले बोनस, हकप्रदलगायतका कर्पोरेट एक्सन गरेपछि शेयर विवरण पनि स्वतः अद्यावधिक हुने प्रणाली बनाउन निर्देशन दिएका हो ।

यसैगरी लगानीकर्ताले आफ्नो कारोबारको अवस्था सजिलै हेर्न सक्ने गरी मेरो शेयरमा रियल टाइम राफसाफसम्बन्धी ड्यासबोर्ड बनाउने योजना पनि अघि बढाइएको छ। त्यस्तै टुक्रा शेयर अर्थात् फ्र्याक्सन शेयरको विषयमा पनि बोर्डले अध्ययन गर्न निर्देशन दिएको छ। फ्र्याक्सन शेयरका कारण लगानीकर्ताले भोग्दै आएका समस्या समाधानका लागि अध्ययन गरी सुझावसहितको प्रतिवेदन तयार गरिने भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*