ठूला शेयरधनीले शेयर बेच्नु १५ दिनअघि नै जानकारी दिनुपर्ने, म्युचुअल फण्डको विवरण दैनिक सार्वजनिक हुने

१० भाद्र २०८३, बुधबार ०८:३५

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पूँजी बजारमा पारदर्शिता र लगानीकर्ताको पहुँच बढाउने उद्देश्यले सूचीकृत कम्पनी तथा म्युचुअल फण्डका लागि नयाँ व्यवस्था अघि सारेको छ।

पूँजी बजार विकास मार्गचित्र २०८३ कार्यान्वयन गर्ने क्रममा बोर्डले बजारमा हुने कारोबार तथा सूचना प्रवाहलाई थप व्यवस्थित बनाउन नयाँ निर्देशन जारी गरेको हो।

नयाँ व्यवस्थाअनुसार कुनै सूचीकृत कम्पनीको ५ प्रतिशत वा सोभन्दा बढी शेयर भएका आधारभूत शेयरधनीले आफ्नो शेयर बिक्री गर्नुअघि कम्तीमा १५ दिन अगावै सम्बन्धित कम्पनीलाई जानकारी दिनुपर्नेछ। कम्पनीले यस्तो जानकारी प्राप्त गरेपछि नेपाल स्टक एक्सचेन्जमार्फत सर्वसाधारणलाई सूचना सार्वजनिक गर्नुपर्नेछ।

यसरी सार्वजनिक गरिएको सूचना तीन महिनासम्म मान्य रहने व्यवस्था गरिएको छ। योसँगै अबदेखि ठूलो परिमाणमा शेयर बिक्री हुन लागेको विषयमा अन्य लगानीकर्ताले समेत समयमै जानकारी पाउने भएका छन्।

बोर्डले शेयर दर्ता, निष्कासन तथा हस्तान्तरणसम्बन्धी प्रक्रियालाई थप व्यवस्थित बनाउन केन्द्रीय निक्षेप प्रणाली तथा राफसाफसम्बन्धी निकायमार्फत आवश्यक व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ।

यस्तै म्युचुअल फण्डका लगानीकर्तालाई लक्षित गर्दै बोर्डले खुलामुखी योजनाका विवरण नियमित रूपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ। अब योजना व्यवस्थापकहरूले आफूले सञ्चालन गरेका खुलामुखी योजनामा दैनिक रूपमा भएको इकाई बिक्री, पुनः खरिद तथा एसआईपी र डीआरआईपीमार्फत भएको इकाई खरिदको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्नेछ।

त्यसैगरी प्रत्येक दिनको कारोबारपछि कायम हुने खुद सम्पत्ति मूल्य अर्थात् एनएभी, बाँकी इकाईको संख्या र इकाईधनीको संख्या समेत वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्नेछ। बोर्डले योजना व्यवस्थापकहरूलाई सम्बन्धित योजनाको स्वीकृत विवरण पुस्तिका पनि योजना सञ्चालन अवधिभर आफ्नो वेबसाइटमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*