बाढीको वितण्डाः रसुवा–नुवाकोटका १५ जलविद्युत् आयोजनामा क्षति, ७५३ मेगावाट प्रभावित

१० भाद्र २०८३, बुधबार १२:४२

काठमाडौँ । तिब्बततर्फबाट आएको अचानकको बाढीले रसुवा र नुवाकोट जिल्लाका विभिन्न जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । इप्पानका अनुसार बाढीका कारण सञ्चालनमा रहेका १० वटा आयोजना र निर्माणाधीन ५ वटा आयोजनामा क्षति पुगेको हो ।

सञ्चालनमा रहेका आयोजनाको कुल क्षमता ३५९ मेगावाट रहेको छ भने निर्माणाधीन आयोजनाको कुल क्षमता ३९४ मेगावाट रहेको छ ।

बाढीबाट रसुवा जिल्लाका मात्रै ८ वटा प्रमुख जलविद्युत् आयोजना प्रभावित भएका छन् । तीमध्ये ५ वटा आयोजना सञ्चालनमा छन् भने ३ वटा निर्माणाधीन अवस्थामा छन् । सञ्चालनमा रहेका आयोजनाको कुल क्षमता २३६ मेगावाट रहेको छ भने निर्माणाधीन आयोजनाको कुल क्षमता ३४२ मेगावाट रहेको छ ।

रसुवामा २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ आयोजना निर्माणाधीन अवस्थामा रहेको छ । १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना सञ्चालनमा छ । त्यसैगरी १२० मेगावाट क्षमताको रसुवा भोटेकोशी आयोजना निर्माणाधीन अवस्थामा रहेको छ । ६ दशमलव ४२ मेगावाट क्षमताको माथिल्लो मैलुङ–ए आयोजना पनि निर्माणाधीन अवस्थामा रहेको छ ।

त्यस्तै ७८ मेगावाट क्षमताको सान्जेन खोला जलविद्युत् आयोजना, ५ मेगावाट क्षमताको मैलङ खोला जलविद्युत् आयोजना, २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजना र २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजना सञ्चालनमा रहेका छन् ।

उता नुवाकोट जिल्लामा पनि बाढीबाट विभिन्न जलविद्युत् आयोजना प्रभावित भएका छन् । जिल्लामा रहेका प्रमुख आयोजनामध्ये ५ वटा सञ्चालनमा छन् भने २ वटा निर्माणाधीन अवस्थामा छन् । सञ्चालनमा रहेका आयोजनाको कुल क्षमता १२३ मेगावाट रहेको छ भने निर्माणाधीन आयोजनाको कुल क्षमता ५२ दशमलव ६ मेगावाट रहेको छ ।

नुवाकोटमा २४ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् आयोजना, १४ दशमलव १ मेगावाट क्षमताको देवीघाट जलविद्युत् आयोजना र ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ए आयोजना सञ्चालनमा रहेका छन् । त्यस्तै २५ मेगावाट क्षमताको सौर्य आयोजना पनि सञ्चालनमा रहेको छ ।

निर्माणाधीन आयोजनातर्फ ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ बी आयोजना र १५ दशमलव ६ मेगावाट क्षमताको मिडल त्रिशूली गंगा जलविद्युत् आयोजना रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*