विवाहको लागि काठमाडौं जिल्ला अदालत पुगेको जोडी प्रहरी हिरासतमा

१० भाद्र २०८३, बुधबार १६:२६

काठमाडौं । विवाह दर्ताका लागि काठमाडौं जिल्ला अदालत पुगेका एक जोडीलाई शंकास्पद कागजात पेस गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं जिल्ला अदालतका अनुसार दर्ताद्वारा विवाहका लागि भदौ ८ गते निवेदनसहित आवश्यक कागजात पेस गरिएको थियो । भदौ ९ गते इजलासमा दर्ता विवाहका लागि पेश भएपछि निवेदनसँग संलग्न कागजातमाथि शंका लागेपछि अदालतले कागजात रुजु गरेको थियो ।

रुजुका क्रममा बुढानीलकण्ठ नगरपालिका–२ वडा कार्यालयका वडा अध्यक्षको हस्ताक्षर तथा कार्यालयको छाप उल्लेख भएका च.नं. १७६ र १७७, मिति २०८३ साउन २८ गतेका अस्थायी सिफारिसपत्र पेस भएको भेटिएको अदालतले जनाएको छ ।

उक्त सिफारिसपत्रका सम्बन्धमा अदालतले बुढानीलकण्ठ नगरपालिका–२ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठसँग टेलिफोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गरी सोधपुछ गरेको थियो । सो क्रममा वडा अध्यक्ष श्रेष्ठले उक्त सिफारिसपत्रमा भएको सहीछाप तथा कार्यालयको छाप आफ्नो कार्यालयको नभएको जानकारी गराएको अदालतको विज्ञप्तिमा उल्लेख छ ।

कागजात नक्कली भएको आशंका भएपछि अदालतले निवेदनसहित संलग्न सम्पूर्ण कागजात र निवेदकलाई आवश्यक कारबाहीका लागि भदौ ९ गते प्रहरी वृत्त सिंहदरबारको जिम्मा लगाएको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*