सर्लाहीमा ७ लाख ५० हजार घुससहित पक्राउ परेका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

११ भाद्र २०८३, बिहीबार ०६:५१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीस्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका दुई कर्मचारीविरुद्ध ७ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार कार्यालयकी डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत छैटौँ तुलाकान्त चौधरीले बोरिङ तथा मोटर जडानको काम सम्पन्न भएपछि रकम भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचना प्राप्त भएको थियो।

उक्त सूचनाका आधारमा अख्तियारको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई सेवाग्राहीबाट ७ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा ढकाल र चौधरीको मिलेमतोमा १३ वटा डिप बोरिङ तथा मोटर जडानका लागि १३ वटा छुट्टाछुट्टै जल उपभोक्ता समिति गठन गरिएको पाइएको अख्तियारले जनाएको छ।

आयोगका अनुसार ती उपभोक्ता समिति वास्तविक रूपमा प्रक्रिया पूरा गर्न नभई कागजमा देखाउने प्रयोजनका लागि गठन गरिएको थियो। समितिले तयार गर्नुपर्ने कागजात तथा पूरा गर्नुपर्ने प्रक्रिया समेत कार्यालयकै कर्मचारीले तयार गरी गराई उपभोक्ता समितिको छाप र अध्यक्षको हस्ताक्षर प्रयोग गरेर भुक्तानी दिने व्यवस्था मिलाइएको अनुसन्धानबाट खुलेको छ।

यस्तो कार्य गरेबापत कार्यालय प्रमुख ढकाल र मेकानिकल अधिकृत चौधरीले सेवाग्राहीसँग घुस रकममा बार्गेनिङ गरी ७ लाख ५० हजार रुपैयाँ लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

आयोगले उनीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुर भएको भन्दै ७ लाख ५० हजार रुपैयाँ बिगो कायम गरेको छ। दुवै जनालाई बिगोअनुसार कैद तथा बिगो बराबर जरिवाना सजाय हुन मागदाबी गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*